Techie IT
Mission Khabar

एनआरएनएको सक्रियता : नेपालमा आइपुग्यो थप ४२८ अक्सिजन कन्सनट्रेटर


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत नेपालमा सहयोग आउने क्रम जारी छ । एनआरएनएको अभियानअन्तरगत विभिन्न राष्ट्रिय समन्वय परिषद् समेतको समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे (५ जुन २०२१) काठमाडौं आइपुगेको हो ।

पछिल्लो पटक यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य संस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको छ । चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृयामा सहयोग गरेका थिए भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको छ ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर, ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । देशका दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान समेत एनआरएनएको समन्वयमा जारी रहेको छ ।

विश्वभरीबाट प्राप्त आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । ‘संघको अभियानमार्फत सहयोग गर्नुहुने विदेशस्थित दुताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघ हार्दिक आभार व्यक्त गर्दछु’, अध्यक्ष पन्तले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । संघको पहलमा यसअघि पनि नेपालमा मेडिकल सामाग्री सहयोग स्वरुप आएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्