Techie IT
Mission Khabar

आजदेखि निषेधाज्ञा खुकुलो : वारअनुसार पसल-व्यवसाय, निजी गाडीमा जोर–बिजोर


काठमाडौं । पसल, व्यवसायलाई बार र समय तालिका मिलाएर सञ्चालन गर्न दिने गरी र निजी सवारी साधन जोर बिजोरका आधारमा सञ्चालन गर्न दिनेगरि काठमाडौं उपत्यकाको निषेधाज्ञा आजबाट खुकुलो बनाइएको छ । पछिल्लो समय थपिएको एकसातको निषेधाज्ञा देशैभर केही खुकुलो बनाइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली अर्थतन्त्रलाई चलायमान बनाउन बारका आधारमा व्यवसाय सञ्चालन गर्न छुट दिइएको बताउँनुहुन्छ । अब आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन गर्न पाइनेछ । यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि यीनै दिन खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न पाइनेछ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ पनि यी तीन दिन नै खुल्नेछन् ।बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न पाइनेछ । खाद्यान्न, फलफूल र तरकारी पसल भने विगतको निषेधाज्ञाको जस्तै हरेक दिन ११ बजेसम्म खुल्नेछन् ।

बढ्दै बजार र सडकमा भीडभाड
उपत्यकामा लगाइएको निषेधाज्ञा केही खुकुलो बनाइएसँगै सडकमा गाडीको चाप बढ्न थालेको छ । गाडीको चाप बढेसँगै चेक प्वाइन्टमा ट्राफिक जाम समेत सुरु भएको छ । विभिन्न पसल, व्यवसाय, कार्यालय र विभिन्न सेवा खुलेपछि सडकमा गाडीको चाप बढेको छ भने पहिलो दिनबाटै बजारमा समेत भीडभाड देखिन थालेको छ । पसल खोल्न र विकास निर्माणका कामलाई अनुमति दिइएपछि जनजिवन चलाएमान बन्न थालेको छ ।

काठमाण्डौ उपत्यकाबाहेकका अरु जिल्लाहरुले पनि यसैगरी निषेधाज्ञा खुकुलो बनाएका छन् । धेरै जिल्लाहरुमा पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमबार रातीबाट सकिएको थियो । ती जिल्लाहरुमा पनि निषेधाज्ञाको अवधि एक हप्ता थप्दै केही खुकुलो बनाइएको हो । खोटाङ र मनाङबाहेकका जिल्लामा निषेधाज्ञा लागु हुँदै आएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्