Techie IT
Mission Khabar

शनिबारबाट मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गरी त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका परीक्षालाई समेत मध्यनजर गर्दै सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिइएको जानकारी गराएको हो ।

यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीहरुलाई समेत आग्रह गरेको छ । प्रशासन कार्यालयकी प्रशासक लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीपरिषद्को मिति २०७८\०४\०४ को निर्णय अुनसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोग लगायतका निकायहरुबाछ परीक्षा कार्यक्रम सार्वजनकि भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लोमो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन अनुरोध छ।’

महंगो भाडा तिर्नुपरेको गुनासो बढिरहँदा प्रशासनले अनिवार्य रुपमा काउण्टरबाट मात्रै टिकट काटेर यात्रा गर्न यात्रुलाई आग्रह पनि गरेको छ । यसअघि निषेधाज्ञाको समयमा समेत लामो दूरीका सार्वजनिक सवारी साधन चलेका भएपनि दोब्बर भन्दा बढी भाडा तिर्नुपर्ने बाध्यतामा यात्रुहरु थिए । यसअघि नै गृह मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको पालनासहित मध्यम तथा लामो दुरीका यातायातका साधन सञ्चालनका लागि भन्दै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो ।


क्याटेगोरी : देश / प्रदेश, यातायात / यात्रा, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्