Techie IT
Mission Khabar

वागमती प्रदेशकै उत्कृष्ट बन्यो सिन्धुपाल्चोक प्रहरी, देशकै उत्कृष्ट बन्ने लक्ष्य


सिन्धुपाल्चोक । कार्यसम्पादन मूल्यांकनमा वागमती प्रदेशभित्रका १० जिल्ला प्रहरी कार्यालयमध्ये सिन्धुपाल्चोक उत्कृष्ट बनेको छ । वागमती प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्षको सुरुवातमा नै सबै जिल्ला प्रहरी कार्यालय सँग कार्यसम्पादन सम्झौता गरे अनुसारको मुल्यांकनका आधारमा जिप्रका सिन्धुपाल्चोक उत्कृष्ट बनेको हो ।

सम्झौताअनुसार तोकिएको कार्य पूरा गरेकाले सबै प्रहरी इकाइमध्ये उत्कृष्ट हुन सफल बताइएको छ ।  वागमती प्रदेश प्रहरी कार्यालयले गत वर्षदेखि मातहातका सबै प्रहरी युनिटसँग मासिक मूल्यांकन मापदण्ड २०७७ लागू गरेको थियो । सोही मापदण्डअनुसार ९३ दशमलब जिरो दुई प्रतिशत ल्याउँदै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पहिलो बन्यो । वागमती प्रदेश कार्यालयले विभिन्न ५० वटा सूचकहरु राखेर मातहातको प्रहरी कार्यालयहरुको मूल्यांकन गर्ने गरेको छ । समुदायमा प्रहरी परिचालन, फरार अपराधी पक्राउ, महिला हिंसा न्यूनीकरण,अनुसन्धानमा प्रविधिको प्रयोग, विभिन्न सरकारी कार्यालय र संघ संस्थाहरुसँगको समन्वय लगायतका सूचकहरुमा प्रदेश प्रहरी कार्यालयले मूल्यांकन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । अब देशभरकै प्रहरीमध्ये उत्कृष्ट बन्ने योजनामा रहेको प्रहरी प्रमुख अधिकारीले बताए ।

यसकारण उत्कृष्ट बन्यो जिप्रका सिन्धुपाल्चोक
जिल्ला प्रहरी कार्यालयले गएको आर्थिक वर्षमा अदालतबाट सजायँ पाएर पनि फरार रहेका ६३ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको थियो । फैसला कार्यन्वयनतर्फ १३० लाई पक्राउ गरेर २३ लाख ९३ हजार ७ सय २९ राजश्व संकलन गरेको छ । कैद भुक्तान गर्न बाँकी ८२ बर्ष ७ महिना १५ दिन कैदका लागि कारागार चलान गरिएको छ । आन्तरिक शुद्धीकरण, अवैध रुपमा हुने नदी दोहन नियन्त्रण, प्रहरीको आत्मबल बढाउन सुरु गरिएको अभियान लगायतमा पनि वागमती प्रहरी कार्यालयले मूल्यांकनमा उत्कृष्ट देखिएको छ । सिन्धुपाल्चोकले सडक दुर्घटना न्यूनीकरण लगायतका कार्यहरुमा पनि आफूलाई अब्बल साबित गरेको छ । प्रहरीको आत्मबल बढाउने उद्देश्यले ‘टि उइथ टिम’ र ‘टि उइथ गेष्ट’लगायतका कार्यक्रमहरु हरेक साता सञ्चालन गर्दै आइरहेको छ ।

विपद् र कोरोना रोकथाममा सुरक्षाकर्मीहरुले खेलेको भूमिका पनि वागमती प्रदेश कार्यालयले मूल्यांकनको आधार बनाएको थियो । मेलम्ची क्षेत्रमा आएको बाढी पहिरोमा आफ्नै आवास ढले पनि प्रहरीहरुले त्यसको कुनै प्रवाह नगरी स्थानीयको जिउधनको सुरक्षाको लागि खेलेको भूमिकाको प्रहरी प्रधान कार्यालयले पनि प्रशंसा गरेको थियो । मेलम्ची क्षेत्रको बाढी पहिरोमा झण्डै २ सय बढी प्रहरीहरु दैनिक रुपमा विपद्ग्रस्त क्षेत्रमा खटिएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्