Techie IT
Mission Khabar

नयाँ बसपार्कको ‘टिकट काउन्टर’ अब कम्युटर प्रणालीमा, हट्लान त बिचौलिया ?


काठमाडौं । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको लामो समयपछि नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न थालेको छ । काठमाडौं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भइ २०५६ सालदेखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरिएसँगै ई—टिकेटिङले निरन्तरता पाएको हो ।

नयाँ बसपार्कभित्रका टिकट काउन्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउन्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरि सञ्चालनमा ल्याइएको छ । टिकट काउन्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउन्टरमा बस्ने कर्मचारीले अनिवार्य पोसाक र परिचयपत्र लगाउनुपर्ने भएको छ । प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट रुपमा पसपार्कको टिकेट काउण्टर बाहिर बसेर थाहा पाउन सक्नेछन् । कम्युटर प्रणाली अपनाएसँगै गाडीमा सिट भए वा नभएको प्रष्ट थाहा पाउने हुनाले आफूले चाहेको टिकट सजिलै काट्न सकिन्छ । नयाँ बसपार्कबाट अहिले ६५ भन्दा बढी जिल्लामा एसी, डिलक्स र साधारण खालका सार्वजनिक गाडी आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्कभित्रका ३२ टिकट काउन्टरले अहिले कम्युटर प्रणालीमार्फत बसको टिकट काट्न सुरु गरेका छन् ।

ल्होत्सेले सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिदैआएको जानकारी दिएको छ । बस टिकट खरिद तथा बुकिङका लागि क्यूआरकोडमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । ल्होत्सेले लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो । अब बाटोमा बसेर बिचौलिया मार्फत महंगो शुल्क तिरेर यात्रा गर्नुपर्ने बाध्यताबाट समेत यात्रुले मुक्ति पाउने विश्वास गरिएको छ । रासस


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्