Techie IT
Mission Khabar

भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु भेटिए, डब्लुएचओको चेतावनी


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा निर्मित कोभिसिल्ड खोपका नक्कली डोजहरु फेला परेको भन्दै सबैलाई सचेत गराएको छ । जुलाइ र अगस्टको बीच समयमा भारत अनि अफ्रिकी निकायहरुले यसलाई पहिचान गरि जफत गरेको डब्लूएचओले जारी गरेको चेतावनीमा जनाइएको छ ।

कोभिसिल्ड निर्माता कम्पनी सेरम इन्सटिच्युट अफ इन्डियाले नै नक्कली खोप भेटिएको पुष्टि गरेको थियो । डब्लूएचओले ‘फेक’खोप विश्वव्यापी जनस्वास्थ्यका लागि गम्भीर खतरा भएको चेतावनी दिँदै तुरुन्तै यसको बिक्री वितरण रोक्न पहल गरेको छ । भारत सरकारले भने यसबारे आधिकारिक धाराणा दिएको छैन । स्थानीय सञ्चारमाध्यमहरुले भने स्वास्थ्य मन्त्रालयले यो मुद्दामा अनुसन्धान गरिरहेको खबरहरु प्रकाशन र प्रशारण गरेका छन् ।

कोभिसिल्ड बेलायती खोप एस्ट्राजेनेकाको भारतीय स्वरुप हो र अहिलेसम्म भारतमा मात्र यसका ४८ करोड ६० लाख डोज प्रयोगमा ल्याइएको छ । कम्पनी सेरमले डब्लूएचओको कोभ्याक्ससँग आबद्ध रहेर एसिया, अफ्रिका र दक्षिण अमेरिकामा समेत यसका लाखौँ डोज आपूर्ति गराएको छ । तर, भारतमा चलेको भयावह दोस्रो लहर पश्चात् सरकारले खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । सेरमले पनिवर्षको अन्त्यसम्म भारतकै मागलाई प्राथमिकतामा राखेर खोप वितरण गरिने बताएको थियो ।

हालसम्म भारतमा १३ प्रतिशत जनसंख्याले पूरा डोज खोप लगाएका छन् । यसरी नक्कली खोप भेटिनुले विश्वभर जोखिम बढाएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, विश्व / विविध, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्