Techie IT
Mission Khabar

काठमाडौंमा भदौ १८ गते देखि र उपत्यका बाहिर १५ दिनपछि लाइसेन्सको ट्रायल परिक्षा


काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परिक्षा आगामी शुक्रबारदेखि सुरु हुने भएको छ । लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको हो ।

विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले काठमाडौँ उपत्यकामा भदौ १८ गते देखि सुरु हुने चालक अनुमतिका लागि ट्रायल उपत्यका बाहिर १५ दिनपछि हुने जानकारी दिए । पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो । यससँगै करिब ४ महिनापछि कोरोनाभाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो । पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा रहेका छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको आँकलन रहेको छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।

नयाँ आवेदन अनिश्चित
झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा रहेको विभागले नयाँ आवेदन भने तत्काल खुलाउने सम्भावन देखिदैन । विभागका महानिर्देशक नमराज घिमिरे पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ परिक्षाको आवेदन कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको बताउँछन् । यातायात कार्यालयलाई डबल सिफ्टमा काम गराउन भनेको दाबी गर्ने विभाग संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारीमा रहेको छ ।

विभागले लिखित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा हलको उपलब्धता अनुसार एक सिफ्टमा सय जना परीक्षार्थीको परीक्षा गराउने व्यवस्था गरेको छ । एउटा कोठामा कम्तीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गर्नुपर्ने भनिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्