Techie IT
Mission Khabar

सडक विभाग, खानेपानी लगायतका कारण बिजुलीका तार अन्डरग्राउन्डमा अवरोध


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विभाग, खानेपानी विभागलगायतका निकायका कारण बिजुलीका तार (केबल) अन्डरग्राउन्ड गर्ने कामलाई गति दिन नसकिएको जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तार अन्डरग्राउन्ड गर्ने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या उत्पन्न भएको जानकारी दिनुभएको हो ।

यी सबै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि घिसिङले बताउनुभयो । अहिले उत्पन्न सबै समस्या समाधान गरेर देशमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्याउन प्राधिकरण प्रतिबद्ध रहेको उहाँको दाबी थियो । झन्डै ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै घिसिङले यसले सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याउन सहयोग गरेको दाबी गर्नुभयो ।

कार्यकारी निर्देशक घिसिङले भन्नु भयो, ‘तार बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायहरूले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको छ । ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढ्नेछौँ । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले झन्डै ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ । यो सूचना प्रविधिको विकासका लागि ठूलो इन्फ्रास्ट्रकचर हो । कुनै पनि फाइबर तान्नुपर्यो भने त्यही पोल प्रयोग हुन्छ र फाइबर होम भनेर जुन हामी अहिले डिजिटल नेपालको अवधारणा अन्तर्गत आइरहेका छौँ, त्यो नेपाल विद्युत् प्राधिकरणको इन्फ्रास्ट्रचरले धेरै सहयोग गरेको छ ।’

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताबाट वार्षिक झन्डै ७० अर्ब आयआर्जन गरिरहेको र प्राधिकरणको आम्दानी अन्य आयोजना मार्फत थप बढ्ने क्रममा रहेको समेत जानकारी दिनुभयो ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्