Techie IT
Mission Khabar

विद्युतको पिक डिमाण्ड बढ्यो, थप बढाउने रणनीतिमा कुलमान घिसिङ


काठमाडौं । गएको वर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग (पिक डिमाण्ड) तीन सय मेगावाटको हाराहारीमा बढेको पाइएको छ । जाडो बढेको र विद्युतको् खपत बढाउनका लागि सरकारले चालेका कदमका कारण माग बढेको नेपाल विद्युत् प्राधिकरणले जानकारि दिएको हो ।

आन्तरिक रुपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगहरुलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति अनुसार कामलाई तिब्रता दिएको बताइएको छ । विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोग बढ्नु, ठूला उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध गराउनुलगायतका कारणले दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले खपत बढाउन कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ । विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको पाइएको छ । प्राधिकरणका अनुसार उपत्यकाको विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गएको वर्ष २९३ मेगावाट रहेको काठमाण्डौ उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नुलाई ठूलो उपलब्धि भएको बताएका छन् । ‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ, विद्युतीय गाडीको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भनेका छन् । ‘विद्युतको माग अहिलेकै रुपमा वृद्धि भयो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको छ ।’ घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखेर अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाइएको बताए ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत् खपत बढ्न सक्ने सम्भावित ठाउँहरुको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले थप विद्युत् आवश्यक पर्ने उद्योगहरुलाई परिमाण खुलाएर तत्काल आवेदन दिन समेत आग्रह गरिरहेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्