Techie IT
Mission Khabar

१२ वर्षमै देशभर दर्जन बढी जिपलाईन सञ्चालनमा, किन बढ्दैछ लगानीकर्ताको आकर्षण ?


काठमाडौं । नेपालमा छोटो समयमै सबैभन्दा आकर्षक साहसिक पर्यटकीय गन्तब्यका रुपमा जिपलाइनले आफ्नो पहिचान बनाउन सफल भएका छन् । सबैभन्दा रोमाञ्चक अनुभूति दिने गरी पोखरामा पहिलो पटक सराङकोट डाँडाबाट जिपलाइन शुरु भएको र त्यसयता देशभर जिपलाइनको संख्या झण्डै एक दर्जन पुगेको पाइएको छ ।

अधिकांश सञ्चालनमा आइसकेका छन् भने केही सञ्चालनको क्रममा रहेको पाइएको छ । जिपलाइनमा व्यवसायी र साहसिक आन्तरिक पर्यटकको सबैभन्दा बढी आकर्षण कोरोना महामारीकै बीचमा समेत देखिने गरेको छ । जिपलाइन सञ्चालन गरिरहेका कम्पनीहरुले विभिन्न प्याकेजमा पर्यटक आकर्षित गर्दा आम्दानी पनि राम्रै गरिरहेका छन् ।

यी हुन नेपालमा सञ्चालित जिपलाइनहरु
हाइड्राउण्ड एडभेन्चरः सराङकोट (कास्की)– कास्कीको सराङकोट डाँडा ९१५५० मिटरबाट हेम्जामा झर्ने यो जिपलाइन सन् २०१० मा शुरु भएको हो । यो नेपालकै पहिलो जिपलाइन मानिन्छ । हाइग्राउण्ड एडभेन्चर जिपलाइन अमेरिकी ब्राण्ड जीपफ्लायरको फ्रेन्चाइज भएका कारण समेत यसमा सोही कम्पनीको मापदण्डसँग मेल खाने गरी प्रविधि जडान गरिएको छ ।

धुलिखेल जिपलाइनः धुलिखेल (काभ्रे)–काठमाडौं नजिक खुलेको दोस्रो जिपलाइन धुलिखेल जिपलाइन हो । तीन वर्ष अगाडि सञ्चालनमा आएको यो जिपलाइनले खासगरी काठमाडौं उपत्यकाका युवापुस्तालाई आकर्षित गरिरहेको छ । यसको लम्बाई ११ सय मिटर छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जिपलाइन गरेपछि यसको चर्चा चुलिएको छ।

गढी जिपलाइनः मकवानपुर- कोरोना भाइरसको महामारी शुरु भइसकेको तर नेपालमा लकडाउन हुनु भन्दा ठ्याक्कै अगाडि सञ्चालनमा आएको थियो गढी जिपलाइन । मकवानपुर जिल्लाको गढीगाउँपालिका–२, ताप्लाखर्चमा ११ सय मिटर लामो जिपलाइन सञ्चालनमा छ । हेटौडाबाट १८ किलोमिटर लामो यो जिपलाइनको साथमा अन्य पर्यटकीय गन्तब्यहरु पनि छन् ।

देवीस्थान जिपलाइनः भेडेटार (धरान)– भेडेटारबाट शुरु भएको जिपलाइनको ल्याण्डिङ भने देवीस्थानमा हुने गरी बनाइएको छ । यसको दुरी ६ सय ५० मिटर लामो छ । ३ करोड रुपैयाँ लगानी रहेको यो जिपलाइनमा ४५ सेकेन्डमा दुरी पार हुन्छ । नेपालको पूर्वी भेगमा खुलेको पहिलो जिपलाइन पनि हो ।

हार्नेस जिपलाइनः पर्वत (कुष्मा)– पछिल्लो समय साहसिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको पर्वतको बन्जीजम्प पनि एउटा आकर्षक गन्तब्य हो । यो जिपलाइन गत आइतबारबाट मात्रै शुरु भएको हो । १४८० मिटर लामो यो जिपलाइन कालिगण्डकी नदीको किनारस्थित एडभेन्चर रिर्सोटमा ल्याण्ड हुने गरी बनेको छ ।

रिभर फन बिच रिर्सोटः त्रिशुली– १२ वर्षदेखि त्रिशुली नदी किनारमा सञ्चालनमा रहेको रिभर फन बिच रिर्सोटले हालै जिपलाइनको परीक्षण सम्पन्न गरेको छ । यो जिपलाइन छिट्टै व्यवसायिक सञ्चालनमा ल्याउने तयारी छ । यहाँ साढे ५ सय मिटरको जिपलाइन निर्माण गरिएको पाइएको छ । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टारस्थित रिर्सोटसम्म विस्तार गरिएको जिपलाइनको अधिकांश उडान नदीमाथि हुने छ । १८ मिटर अग्लो पाँचतले टावर निर्माण गरि त्यसको चौथो तलाबाट जिपलाइन गर्न सकिने बताइएको छ ।

त्रिशुली रिभर साइट रिर्सोटः त्रिशुली– त्रिशुली नदी किनारमा खुलेका रिर्सोटमध्ये साहसिक गतिविधिका लागि लगानी गरेको अर्को रिर्सोट हो त्रिशुली रिभर साइट रिर्सोट । यहाँ २ सय मिटर लामो जिपलाइन सञ्चालनमा छ । यो रिर्सोटले आफ्नो प्याकेजमा जिपलाइन समेत राखेर पर्यटक लोभ्याउने गरेको छ ।

योयो जिपलाइनः ह्याम्पेडाँडा (भक्तपुर)–भक्तपुरको सुर्यविनायक नगरपालिका ७ स्थित पर्यटकीय स्थल घ्याम्पेडाँडामा योयो जिपलाइन सञ्चालनमा आएको छ । १२ सय मिटर लामो जिपलाइनको यात्रा गर्न पिकनिक स्पटका रुपमा चर्चित यस भेगमा हरेक दिन जसो पालो कुरेरै आन्तरिक पर्यटकहरुले मजा लिने गरेका छन् । काठमाडौंको दृष्यावलोकनसहित यो जिपलाइनको मज्जा लिनेहरुको भीडभाड बढ्दो छ ।

चन्द्रागिरि जिपलाइनः चन्द्रागिरि– प्रारम्भमा १ सय मिटर लामो जिपलाइन चलाएको चन्द्रागिरि हिल्स प्रालिले अहिले यहाँ २ सय मिटर लामो अर्को जिपलाइन सञ्चालनमा ल्याएको छ । चन्द्रागिरिको भ्रमणमा जाने आन्तरिक तथा बाह्य पर्यटकले यसको मज्जा लिने गरेका छन् । केही समय अगाडि बाबा रामदेवले यहाँ पुगेर जिपलाइनको मज्जा लिएका थिए ।

दरवार एडभेन्चर जिपलाइनः नुवाकोट– नुवाकोट दरवारबाट ५ मिनेटको दूरीमै अवस्थित दरबार एडभेन्चर जिपलाइन ऐतिहासिक नुवाकाटे दरबार भ्रमणमा जानेहरुका लागि आकर्षण बनेको छ । १३ सय मिटर लामो यो जिपलाइन समेत कोरोना महामारीकै बीचमा सञ्चालनमा आएर राम्रो आम्दानी गरिरहेको छ ।

भक्तपुरको नगरकोटमा समेत जिपलाइन बनेको छ । , धादिङको सातघुम्तीस्थित ट्राइम्स रिर्सोट (वाइरोड) मा, कास्कीको सराङकोटमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको केवलकार परिसर भित्र समेत १ सय मिटर लामो जिपलाइन बन्दैछ । यता, बुटवलको लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समितिले जिपलाइन सञ्चालनमा ल्याएपनि सञ्चालनमा आउन बाँबी छ । यसबाहेक सौराहा, विसंखुनारायण, साँगासहितका क्षेत्रमा समेत जिपलाइन जडान भएर सञ्चालनको पर्खाइमा छन् ।

जिपलाइन चढेको लम्बाइ हेरेर १ हजारदेखि ५ हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ । रिर्सोटहरुले प्याकेजमै जिपलाइनको मूल्य राखेर दोहोरो आम्दानी गरिरहेका छन् । जिपलाइन क्षेत्रमा देखिएको आन्तरिक एवंम बाह्य पर्यटकहरुको आकर्षणले कोरोनाका कारण सुस्ताएको पर्यटन उद्योगमा केही आशा भर्न थालेको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्