Techie IT
Mission Khabar

कोरोनाको चौथो लहरसँगै बढ्दै जोखिम, यस्तो छ स्वास्थ्य पूर्वाधारको अवस्था !


काठमाडौं । केही दिन अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको चौथो लहर सुरु भएको संकेत गर्दै एक महिना संक्रमणदर उच्च विन्दुमा पुग्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । मन्त्रालयको प्रक्षेपणसँग विज्ञहरू पनि सहमत देखिएका छन् ।

‘चौथो लहर सुरु भएको हो । अबको दुई–तीन हप्ता संक्रमण आक्रामक हुने देखिन्छ,’ भाइरोलोजिस्ट डा. सन्तोष दुलालले बताए । मंगलबार मात्रै पनि मन्त्रालय र विज्ञको आँकलनलाई सहि सावित गर्नेगरि एक हजार ९० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा सङ्क्रमण पुष्टि भयो । निकै लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसले समेत संक्रमणदर बढ्न थालेको छ । एकैदिन दुई जना संक्रमितको मृत्यु भएकाले जोखिम समेत बढ्दो देखिएको छ । बुधबार मात्रै पनि एकैदिन कोरोना संक्रमणबाट ३ जनाको मृत्यु हुँदा ८६८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारी समेत नयाँ भेरियन्ट बढी संक्रामक रहेको र एक महिनासम्म संक्रमणको ग्राफ बढेर प्रतिदिन ८ हजारसम्म संक्रमित पहिचान हुनसक्ने बताउँछन् । साउन, भदौ र असोज तीन महिना संक्रमणको जोखिम उच्च हुने प्रक्षेपण सरकारले गरेको छ । यो अवधिमा भर्ना हुने बिरामीको संख्या पनि बढ्ने आकलन गरिएको छ । संक्रमण असोजबाट ओरालो लाग्ने इडीसीडीको प्रक्षेपण अनुसार नै सरकार तयारीमा जुटेको छ ।

के छ त कोरोना संक्रमणको उपचार तयारी ?
मन्त्रालयका अनुसार ८ हजार २ सय २ आइसोलेसन बेड, ३ हजार ८ सय ४६ एचडीयू बेड, २ हजार ७ सय ९७ आईसीयू बेड, १ हजार ८ वटा भेन्टिलेटर, १८ हजार २ सय १९ अक्सिजन सिलिन्डर, अक्सिजन प्लान्ट १ सय ३२ र ट्यांक २७ वटा तयारी अवस्थामा राखिएको छ । १७ वटा अस्पताललाई कोभिडको उपचार गर्न तोकिएको छ । चौथो लहरसम्म आइपुग्दा उपचार सेवा स्वास्थ्य पूर्वाधारमा धैरै सुधार भैसकेको सरकारी दाबी छ ।

कोरोनाविरुद्धको खोपको बुस्टर डोजले ८५ प्रतिशत सुरक्षा
सरकारले कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लगाउन पुनः आग्रह गरेको छ । कोरोनाविरुद्धको खोपले नै गम्भीर अवस्थामा पुग्नबाट रोक्ने निष्कर्षमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनिवार्य लगाउन आग्रह गरिरहेको छ । खोप लगाएका मानिसको तुलनामा नलगाएका मानिसमा सङ्क्रमणले गम्भीर बिरामी बनाउने सम्भावना १० गुणाले धेरै हुने आँकलन गरिएको छ । बुस्टर मात्राले गम्भीर बिरामी वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कोरोनाविरुद्धको खोप लगाउन, नाक र मुख छोपिने गरी मास्क लगाउन, भौतिक दुरीको ख्याल गर्न, खोक्दा वा हाच्छिउँ गर्दा पाखुरादेखि नाडीसम्मको भागले नाकमुख छोप्न, झ्याल सधैँ खुला राख्न र बेला–बेला साबुन पानीले मिचिमिची हात धोएर कोरोनाको रोकथाममा सक्रिय हुन सबैलाई अनुरोध गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्