Techie IT
Mission Khabar

रुपन्देहीमा देखिएको ठूला होटल मोह, शिक्षण अभ्याससँगै रोजगारीको अवसर


रुपन्देही– रुपन्देहीको बुटवल क्षेत्रमा ठूला लगानीका होटल र रिसोर्टहरु खुल्ने क्रम बढ्न थालेको छ । आन्तरिक र वाह्य पर्यटकको चहलपहल बढेपछि बुटवल उपमहानगरपालिका १३ ढबाहामा २५ करोड लगानीको आरम्भ रिसोर्ट सञ्चालनमा ल्याइएको छ ।

आरम्भ ग्रुप अफ हस्पिटालिटि अन्तर्गत १ सय ४० जनाको संयुक्त लगानीमा पब्लिक कम्पनी अन्तर्गत सञ्चालनमा आएको होटल ४ विघा क्षेत्रफलमा फैलिएको छ । जुन कम्पनीको आफ्नै स्वामित्वको जग्गा हो । पब्लिक कम्पनी अन्तर्गत सञ्चालनमा आएको आरम्भ रिसोर्ट रुपन्देहीकै पहिलो हो भने होटलमा ठूलो स्वीमिङ पूल, कन्फेरेन्स हल, पार्टी प्यालेससहित मास्टर किङ साइजका ९ वटा स्तरिय बेडरुम रहेका छन् । एक बर्षभित्र ५० वटा र २ वर्षभित्र सय वटा स्तरीय बेडरुम निर्माण गर्ने लक्ष्य रिसोर्टको छ । सञ्चालक गोपाल पाण्डे का अनुसार लजका लागि दुई वटा अलग अलग भवन बनाइने योजना रहेको छ ।

अहिले नै रिसोर्टमा ब्याचलर इन होटेल म्यानेजमेन्ट (बीएचएम) को कक्षा सञ्चालन सुरु भैसकेको छ । भविष्यमा रिसोर्टलाई नेपालकै नमूना ‘स्कूटेल’ (शिक्षण होटल) र पाँचतारे होटलका रुपमा विकास गर्ने लक्ष्य निर्माण पक्षको छ । ४७ जनाले प्रत्यक्ष रोजगारी पाएको रिसोर्ट पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नयाँगाउँ ढबाहाबाट सात सय मिटर दक्षिण क्षेत्रमा छ । सुविधा सम्मपन्न यो रिसोर्ट मात्रै होइन बुटवल क्षेत्रमा अहिले ठूला लगानीका होटल तथा रिसोर्ट बन्ने र सञ्चालनमा आउने क्रम तिब्र बनेको छ । स्तरिय होटलमा बढेको लगानी र सञ्चालनले रुपन्देहीको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अनुसार रुपन्देहीमा साना, मझौला, ठूला र तारेसहित करिब एक हजार पाँच सय होटल तथा रिसोर्ट सञ्चालनमा छन् । यी होटलबाट एक रातमा पाँच हजार जना पाहुनाले सहज बासको सुविधा पाएका छन् ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्