Techie IT
Mission Khabar

थ्री गर्जेजले पश्चिम सेतीबाट हात झिक्ने संभावना, काम अघि बढाउन लगानी बोर्डले गरेको आग्रह ईन्कार


काठमाडौं–चिनियाँ कम्पनी थ्री गर्जेजले तत्काल पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयन अघि बढाउन नसक्ने भन्दै आयोजनाबाट हात झिक्ने संकेत गरेको छ ।

लगानी बोर्ड र सरोकारवाला पक्षसँग पश्चिम सेती परियोजना सम्बन्धमा भएको छलफलमा थ्री गर्जेजले प्राविधिक समस्या, पीपीए, पुनर्वास, पुनःस्थापना लगायतका कारण आयोजना आर्थिक रुपले सम्भाव्य नरहेको भन्दै अघि बढाउन नसक्ने आशय व्यक्त गरेको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार आयोजनाको बिजुली किन्दा नेपाल विद्युत प्राधिकरणले दिने दर कम भएको, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको पुनर्वास र मुआब्जा लगायतका प्राविधिक कारण देखाउँदै थ्री गर्जेजले आयोजना तत्काल अघि नबढ्ने संकेत गरेको छ ।

नेपाली पक्षबाट ७५० मेगावाट क्षमतालाई ६०० मेगावाटमा झारेर भए पनि तत्काल काम अघि बढाउन आग्रह गर्दा पनि थ्री गर्जेजले तत्काल काम अघि बढ्दैन भन्दै अस्विकार गर्नुले हात झिक्ने संकेत गरेको सहजै अनुमान गर्न सकिन्छ । सम्झौता तोड्ने वा नतोड्ने बारेको निर्णय लगानी बोर्डको आगामी बैठकले गर्नेछ । नेपाल विद्युत प्राधिकरणले जलाशययुक्त आयोजनाको बिजुली खरिद गर्दा हिउँदमा प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र वर्षायाममा ७ रुपैयाँ १० पैसा दिदै आएको छ ।

नेपाल विद्युत प्राधिकरण र थ्री गर्जेजबीच २०७४ कार्तिक ३० मा संयुक्त लगानीको सम्झौतामा हस्ताक्षर भएपनि अहिलेसम्म आयोजनाको काम अघि बढेको छैन । काम नगर्ने ठेकेदारलाई छानिछानी कारबाही गर्छु भन्ने सरकारले आयोजना ओगट्न अनि लाभ नदेखेपछि भाग्न खोज्ने यस्ता बैदेशिक कम्पनीलाई कारबाही गर्नुपर्छ की पर्दैन ?


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्