Techie IT
Mission Khabar

नागढुंगा सुरुङ मार्ग निर्माणमा १५ नेपाली कम्पनी इच्छुक, ०७८ दशैं अगाबै सञ्चालन लक्ष्य


काठमाडौं– नागढुंगा सुरुङ मार्ग निर्माणका लागि १५ वटा नेपाली कम्पनीले इच्छा जहोर गरेका छन् । सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखामा परेको बोलपत्र खरिद अनुसार १५ नेपालीसहित ४२ कम्पनी सुरुङमार्ग निर्माणमा इच्छुक देखिएका हुन् ।

सुरुङमार्ग बनाउने कम्पनी छान्न महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेकोमा चिनियाँ २१, नेपाली १५, जापानिज तीन, भारतीय दुई र टर्किस एक कम्पनीको बोलपत्र परेको छ । महाशाखाका अनुसार अन्तिमदिन बुधबार कुनैपनि प्रस्ताव नआएपछि प्रस्ताव बुझाउने म्याद १५ दिन थप भएको छ । २० लाख रुपैयाँ प्रतिबोलपत्र मुल्य तोकिएको सुरुङ निर्माणमा सहभागीता जनाउने कम्पनीले टेन्डर प्रक्रियामा सहभागी हुनै २० करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेहुन्छ । यसलै पनि विदेशी कम्पनी बढी भएको बताइन्छ । तिब्र प्रतिस्पर्धाबाट उत्कृष्टलाई अवसर दिनकै लागि दुई महिनामा थप १५ दिने समय उपलब्ध गराएको महाशाखाको दाबी छ ।

सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ पनि धेरै कम्पनीको टेण्डरबाट ऋणदाता जाइकाले उत्कृष्टलाई छान्ने विश्वास गर्छन । सुरुङमार्ग बनाउन इच्छुक कम्पनीको प्रस्तावको मूल्यांकन र आवश्यक स्वीकृतिका लागि ऋणदाता जाइका पठाइने महाशाखाले जनाकारी दिएको छ । जाइकाको मूल्यांकनबाट प्राविधिक रूपमा सक्षम देखिएका कम्पनीले मात्रै आर्थिक प्रस्ताव सहितको टेण्डरमा सहभागिता पाउनेछन् । काठमाडौंबाट थानकोट हुँदै बाहिरिने र भित्रिने सवारीसाधनको सहजताका लागि भन्दै नागढुंगामा सुरुङमार्ग बनाउन प्रस्ताव आह्वान गरिएको हो ।

नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङमार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराइसकेको छ । आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा जापानले दिएको ऋण सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको सरकारी दाबी छ । सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले भाग लिन पाउनेछन् । सुरुङमार्ग निर्माणमा गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । मुअब्जा र निर्माण क्षेत्रमा खटिने कर्मचारीका लागि अपुग देखिने ६ अर्ब रुपैयाँ सरकारले व्यहोर्ने छ ।

ठेक्का पाउने कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ । साँढे नौँ मिटर चौडा हुने सुरुङमार्गको सडक बीचको साँढे एक मिटर बाहेक दुईलेनमा बाढिनेछ । दुबै लेन साढे तीन मिटर चौडा हुनेछन् । सुरुङमार्ग प्रवेश गर्ने सडकमा तीनवटा पुल, दुई अन्डरपास र एक एक वटा ओभर पास तथा फ्लाई ओभर रहने बताइएको छ । कम्तीमा पाँच मिटर लम्बाइको यो सुरुङमार्ग प्रवेश गर्ने बाटोका खोल्सामा ११ वटा कल्भर्ट राख्नुपर्ने र आकस्मिक अवस्थाका लागि निकासी सुरुङ पनि ठेकेदार कम्पनीले नै निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ । न्यूनतम अंक कबुल गर्ने कम्पनीले सुरुङमार्गको ठेक्का पाउने व्यवस्था अनुसार ठेकेदार छनोट प्रक्रिया जनवरी २०१९ तोकिएको छ ।

ठेक्का पाएको ४२ महिनाको समयमा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण सक्नेगरी विभाग र ठेकेदारपक्षबीच सम्झौता हुनेछ । निर्माण कम्पनी आफैंले आवश्यक प्राविधिक सामग्री जुटाएर काम गर्नुपर्नेछ । सुरुङमार्गका लागी आवश्यक तीन सय ७६ रोपनी जग्गा अधिकरणको काम आगामी पुसभित्र सकिने सरकार दाबी छ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्