Techie IT
Mission Khabar

बाँकेमा तारे होटल बन्ने प्रतिस्पर्धा तिब्र, नेपालगञ्जको होटल सिद्धार्थ भ्यूले पायो चार तारे मान्यता


नेपालगञ्ज– सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीद्वारा सञ्चालित नेपालगन्जस्थित होटल सिद्धार्थ भ्यूले चारतारे होटलको मान्यता पाएको छ । यसअघि नै सञ्चालनमा आएपनि लगानी थप गरेर ५० करोड बढीको पुर्वाधार पुर्याएपछि चार तारे मान्यता पाएको होटल सिद्धार्थ भ्यूका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिएका हुन् ।

होटल सिद्धार्थ भ्यूलाई अझै स्तरीय होटल बनाउन थप लगानी गर्ने र केही वर्षभित्रै पाँचतारेको मान्यता लिने उद्देश्य सहित काम भइरहेको सिद्धार्थ ग्रुपअफ हस्पिटालिटीको दाबी छ । होटल तथा रेस्टुराँको क्षेत्रमा देशकै अग्रणी लगानीकर्ता मध्येको एक सिद्धार्थ ग्रुपको यो पहिलो चार तारे होटल हो । केही महिनामै क्यासिनो सञ्चालन गर्नेगरी तयारी सहित दोश्रो पार्टीसँगको सम्झौतामा जोडिएको होटल सिद्धार्थ भ्यू मा फेरी करोडौं लगानी थपिनेछ ।

पछिल्लो केही समययता नेपालगन्जमा तारे होटलहरू धमाधम खुल्न थालेका छन् भने पुरानाले पनि लगानी थप गरेर स्तरउन्नती गरिरहेका छन् । मानसरोवर जाने भारतीय धार्मिक यात्रीहरुको संख्या बसेनी बढेपछि कर्णाली प्रदेशको द्वार नेपालगञ्जमा ठूला होटल खोल्ने क्रम बढेको बताइन्छ । यसअघि कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजा र नेपालगन्जस्थित होटल सोल्टी वेस्टर्न प्रिमियरले चारतारे होटलको मान्यता पाएका थिए । यी बाहेक होटल किचन हट र होटल सिग्नेटले चारतारे मान्यताका लागि सबै मापदण्ड पुरा गरिसकेका छन् । छिट्टै मान्यता पाउने विश्वासमा होटल सञ्चालकहरू छन् ।

यस्तै, नेपालगञ्जमा आधा दर्जनजति होटल तीनतारे मान्यता सहित सञ्चालनमा छन् । पछिल्लो समयमा बाँकेमा तारे होटल खुल्ने प्रतिस्पर्धा नै चलेको छ । ७१ करोडको लगानीमा नेपालगन्ज–कोहलपुर सडकखण्डको हवल्दारपुर नजिक चारतारे होटलको निर्माण धमाधम भैरहेको छ । होटल अर्गनाइजेसन नेपालका पूर्वउपाध्यक्ष भाष्कर काफ्ले नेपालगन्जलाई पश्चिम नेपालकै होटल हब बनाउने उद्देश्य सहित लगानीकर्तालाई आकर्षित गरिएको बताउँछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्