Techie IT
Mission Khabar

पाल्पाको सिर्जनशिल अपाङ्ग स्वाबलम्बन केन्द्रले पायो सुविधासम्पन्न भवन, नेपाली फ्यामिली अष्ट्रेलियाको सहयोगी मन


अनु खनाल । पाल्पा–” मन बिनाको धन ठूलो कि धन बिनाको मन ?” अशोक दर्जीले बाल स्वर भरेपछि जनजनको जिब्रोमा गुञ्जिएको यो गित अहिलेपनि चर्चाको शिखरमा छ ।

निक्कै छोटो समयमा सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन– ७ पाल्पाले भवन पाएको छ । त्यो पनि सहयोगी मनबाट दिइएको धनबाट । मन र धन दुबैको तालमेल मिल्यो भने सिर्जनशिल उपलब्धी हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, यी दुई भवनले । नेपाली फ्यामिली अष्ट्रेलियाको सहयोगमा निर्माण भएको भवन मात्रै ६ महिनामा पुरा भएको छ । विकास आयोजना हातमा लिएर बर्षौँसम्म काम नगरी बस्नेहरुका लागि यो एउटा गतिलो झापड नै हो ।

अपाङ्ता भएकाहरुलाई आश्रय दिने र शिक्षादिक्षाको बन्दोबस्ती गर्दै आएको सिर्जनशिल स्वाबलम्बन केन्द्रले दुई वटा भवन पाएको छ । पहिलो भवन एक करोड त्रिचालीस लाख र दोस्रो भवन एक करोड एकतीस लाखमा निर्माण सम्पन्न भएर केन्द्रको हातमा परेपछि त्यहाँ आश्रीत ६० जना शारिरिक अपाङ्गता भएकाहरुले सुविधा पाएका छन् । पहिलो भवनमा ९ कोठा दोश्रोमा १० वटा कोठा रहेका छन् । एउटा कोठामा ४ जना अपांगता भएकाहरु बस्न सक्ने क्षमता रहेका कारण अब सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्रले ७६ जनालाई आश्रय दिन सक्नेछ ।

लामो समयदेखी अपाङ्गता भएकाहरुको सेवामा क्रियाशिल केन्द्रका अध्यक्ष संजय भट्टराई भन्छन्– सिपमुलक तालिम आवासिय बास सहित शिक्षा दिक्षाको व्यवस्था हामीले गर्दै आएका छौँ, भवन निर्माणले हामीलाई ठूलो राहत मिलेको छ । अब स्थानीय तहले आर्थिक तथा भौतिक सहयोग गरेमा धेरै अपाङ्गहरु माझ हामी सेवा विस्तार गर्नसक्छौँ । उनले अपाङ्गता भएकाहरु कोही भए आश्रय, सिपमुलक तालिम र शिक्षा दिक्षाका लागि आउन आग्रह पनि गरे ।

“मनको खाँचो जनजनलाई धनको खाँचो मनलाई दुबै अति जरुरीछन् ज्यूनु पर्ने ज्यानलाई” अशोक दर्जीसँगै जताततै गुञ्जिरहेको यो गितको भाव जस्तै धन र मनको आपसि तालमेल मिल्दै जाने हो भने थुप्रै अभावमा बाँचिरहेकाहरुको जीवन सार्थक हुनेछ । उदार दिल सहित सहयोग गर्ने नेपाली फ्यामिली अष्ट्रेलियाका अध्यक्ष यनी होयल र सल्लाहकार दिग्बी होयललाई हाम्रो तर्फबाट पनि धन्यवाद् ।


क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्