Techie IT
Mission Khabar

मेलम्ची सपना : पाइप परिक्षणले जगाएको सकारात्मक आशा


काठमाडौँ – मेलम्चीको पानी अब भने छिट्टै काठमाडौं भित्रिने आशा बढ्न थालेको छ । काठमाडौं उपत्यकामा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको सुन्दरीजलदेखी चाबहिलसम्मको मूलपाइप परीक्षण सम्पन्न भएपछि मेलम्चि आउने आशा जागेको हो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले चाबहिलभन्दा माथि देखिएको सामान्य चुहावट बन्द गरेर वितरण प्रणाली चुस्त बनाइएको जानकारी दिएको छ । चाबहिल चोकमा भने चुहावट रोक्न आयोजनाले समस्या झेल्दै आएको छ । ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न गरेको आयोजनाले वाग्मतीको पानीले भ्याएसम्म परीक्षण जारी राखेको बताएको छ ।

चाबहिल चोकको एक हजार ४ सय एमएमको पाइपको चुहावट पनि आइतबारसम्म समाधान गर्ने आयोजनाको दाबी छ । महाङ्काल, चुच्चेपाटी सुकेधारा लगायतका क्षेत्रको चुहावट बन्द गरेको आयोजनाले वर्षाद्मा वाग्मती नदीमा बढी भएको पानी सुन्दरीजलको नयाँ प्रशोधन केन्द्रमा राखेर परीक्षण अघि बढाउदै आएको छ । ३० प्रतिशत परिक्षणका लागि मेलम्चिको पानी कुर्नुपर्ने हुँदा सबै पाईपमा पानी नियमित हुन भने केही समय लाग्नसक्ने देखिन्छ ।

यता, दुई महीनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने लक्ष्य सहित काम भएका कारण सबैभन्दा पहिले मेलम्ची खोलाबाट दैनिक १७ करोड २८ लाख लिटर पानी काठमाडौं आउनेछ । याङ्ग्री र लार्केको आयोजना सम्पन्न भएपछि दैनिक ५१ करोड ९० लाख लिटर पानी काठमाडौंमा आइपुग्नेछ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्