Techie IT
Mission Khabar

तातोपानी नाका अबको ७ महिनामा खुल्ने संकेत, सडक मर्मत सम्भारको तयारीमा जुट्यो सरकार


सिन्धुपाल्चोक– काठमाडौंबाट १ सय ११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानी क्षेत्रका बासिन्दा यो नाका बन्द भएपछि मारमा पर्दै आएका छन् । २०७२ को भूकम्पअघिसम्म चीनसँगको मुख्य ब्यापारिक नाका रहेको तातोपानी अहिले सुनसान मात्रै छैन्, चीनसँगको कारोबारले धानिने यस क्षेत्रका स्थानीयको जिवोकोपार्जन नै फेरिएको छ ।

खासा बजार नै हटाएको चीनले पछिल्लो समय भने आफ्नो तर्फको सडकलगायतका भन्सार पूर्वाधारको निर्माणलाई तिब्रता दिएको छ । यहाँ भैरहेको विकासले हौसिएको नेपाली पक्षले पनि तातोपानी नाका खोल्न चीन तयार भएको बुझेर सडक मर्मतको कामलाई तिब्रता दिएको छ । सडक मर्मत गर्न चीन सरकार आफैंले चासो देखाएपनि अहिलेसम्म कुनै सम्झौता भएको छैन । बरु साढे तीन वर्षदेखि बन्द रहेको नेपाल–चीन तातोपानी नाका आगामी जेठसम्ममा सञ्चालन गर्ने तयारी स्वरुप सडक विभागले सडक मर्मत–सम्भार र पुनस्र्थापनाको टेण्डर प्रकाशन गर्न लागेको छ ।

दशैंअघि नाका जोड्ने सडकको निरीक्षणका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ तातोपानी पुगेसँगै तातोपानी खुलाउन चीनिया पक्ष सहमत भएको कतिपयले आँकलन गरेका थिए । भूकम्पले नेपालको तातोपानी र चीनको खासा (दुबै) तर्फका भीर पहरा भत्काएपछि यो नाका अबरुद्ध हुँदै आएको थियो । जीर्ण सडक मर्मतका लागि ३५ करोड रुपैयाँ मात्रै छुट्याइएका कारण सडक खुलाउन बजेट अभाव हुने बताइएको छ । सडकसँगै कतिपय पुलहरुमा समेत क्षति पुगेका कारण तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।

यद्यपी चीन र नेपाल दुबै पक्षले नाका र सडक खुलाउन चाहेमा छोटो समयमै पनि सम्भव हुनसक्छ । नाका खुल्ने संकेत पाएसँगै यस क्षेत्रका स्थानीय खुसी हुन थालेका छन् ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्