Techie IT
Mission Khabar

पूर्वमन्त्री विक्रम पाण्डे बिरुद्ध मुद्धा दर्ताको तयारीमा अख्तियार, खुल्लान त ठूलाबडाका फाईल ?


काठमाडौँ–केही समय शान्त देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बन्न खोज्दैछ । पदको दुरुपयोग गर्दै सानातिना लेनदेनको अनुसन्धानमा अल्झिएको अख्तियारले ठूला अनि पँहुचवाला थुप्रैको फाइल बन्द गरेर राखेको छ । यो बिचमा अख्तियारले पूर्वमन्त्री समेत रहेका कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको हो ।

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण गर्दा भएको गुणस्तरहीन कामबाट भ्रष्टाचार गरेको आयोगको ठहर छ । आयोजनाको नहर सुचारु नहुँदै भत्किदा र अहिलेको कामबाट राज्यलाई २ अर्ब १३ करोड घाटा लागेको निष्कर्ष निकालेको अख्तियारले अभियोग उपर ५९ करोड ३४ लाख ५२ हजार मात्रै बिगो मागदाबी गरेको छ । सिटिसिई कालिका जेभीका प्रमुख पाण्डेविरुद्ध मुद्दा दर्ता गरियो भने ठूला र प्रतिष्ठितहरु माथीको यो दोश्रो कारबाही बन्नेछ । गुणस्तरहीन काम भएकै कारण सिक्टा सिँचाइ आयोजनाको मूल नहरको ३५ किमि कामै नलाग्ने गरी भत्किएको भन्दै चौतर्फी आलोचना र बिरोध हुँदा पनि सरकारले यसबारे कुनै चासो देखाएको थिएन् । अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कसुरदार ठहर गर्दै मुद्धा दर्ताको तयारी गरेसँगै राजनीतिक आडमा ठेकेदारी र व्यवसाय गर्नेहरु हच्किएका छन् ।

यसअघि पप्पु कन्ट्रक्सन बिरुद्धको अनुसन्धानमा अख्तियारले तदारुकता देखाएपनि निक्कै ढिला गरेर बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमिता गरेको आरोपमा निर्माण कम्पनी पप्पु कन्ट्रक्सन प्रालिको तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार,पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार सहित १२ जना बिरुद्ध करिब २ महिना अघि मुद्धा दर्ता गरेको थियो । यो अनियमिततामा एभरेष्ट इञ्जिनीयरिङ कन्सल्ट्यान्ट, डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुखत्रय भानु जोशी मनोज श्रेष्ठ र राजेशकुमार यादवसँगै डिभिजन सडक कार्यालय नेपालगञ्जका थुप्रै इञ्जिनीयर मुछिएका थिए । अब दर्ता हुने मुद्धा योपछिको ठूलो हो ।

पप्पु काण्डका पछिल्ला मुद्धामा अख्तियारले आनाकानी गरेको भन्दै प्रश्न उब्जाइरहेको बेला विशेष अदालतमा पुग्न लागेको पूर्वमन्त्री बिरुद्धको यो मुद्धाले अख्तियारबाट आसा गर्ने झिनो ठाउँभने दिएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्