Techie IT
Mission Khabar

अख्तियारको निसानामा थप १४ रुग्ण विकास आयोजना, हट्ला त विकासमा घुसेको ढिलासुस्ती र अनियमितता ?


काठमाडौँ– अख्तियारले ठूला अनियमितता माथी थप छानविन अघि बढाएको छ । रुग्ण आयोजनामा भएगरेको अनियमितता र ढिलासुस्तीलाई लक्षित गरेको अख्तियारले अहिले थप १४ रुग्ण आयोजनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।

अख्तियार श्रोतका केही दिनभित्रै यी आयोजनहरु मध्ये केहीको अनुसन्धान किनारा लाग्दैछ । यसमा पनि ठूला निर्माण व्यवसायी, परियोना प्रमुख र केही राजनीतिकर्मीको संलग्नता खुलेको बताइएको छ । अकुत सम्पत्ति छानबिन तथा ठूला अनियमिततामा अख्तियार सेलाएको आरोप बढ्दैगर्दा पछिल्लो दुई महिनाको अवधिमा ठूला विकास आयोजनामा भएको अनियमितता अदालतसम्म पुगेको छ । यसले अख्तियार बिगतभन्दा बढी तथ्यपरक अनुसन्धानमा केन्द्रित भएको देखाएको छ ।

पछिल्लो समय ठूला विकास परियोजनाको अनियमितता र रुग्ण विकास आयोजनामाथी ढिलाइमा अख्तियार केन्द्रित छ । कुन–कुन आयोजना अनि के कतिको संलग्नता खुल्छ भन्ने बारे अनुसन्धानको प्रक्रिया जारी रहेको भन्दै केही खुलाइएको छैन ।

अख्तियारले दायर गरेको पछिल्लो मुद्दामा पूर्वमन्त्री र बाहलवाला सांसद नै प्रतिवादी छन् । १५ जनाभन्दा बढी राष्ट्रसेवक कर्मचारी अनियमिततामा तानिएका छन् । यस्तै, आयोजना प्रमुख र अनियमितताको हिस्साका भागिदार हुने प्रायलाई समेट्ने गरि अनुसन्धान भएको देखिन्छ । अख्तियारले शुक्रबारमात्रै पूर्वमन्त्री एवं राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माण गरिरहेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको अनियमिततामा मुद्दा दायर गरेर आफ्नो अनुसन्धानको प्राथमिकता खुलाई सकेको छ । यसअघि असोज १९ गते बाहलवाला सांसद हरिनारायण रौनियार संस्थापक रहेको पप्पु कन्स्ट्रक्सनविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । बर्दियाको जब्दीघाट पुल निर्माण पुरा नहुँदै भत्किएपछि बाहलवाला सांसद रौनियर सहित हालका अध्यक्ष उनकै छोरालाई विपक्षी बनाइएको थियो ।

केही ढिला गरेर मुद्धाप्रक्रिया अघि बढाइएपनि प्रतिवादी बिरुद्ध बलियो प्रमाण र आधार तयार गर्नमा अनुसन्धान केन्द्रित भएको अख्तियार बताउँछ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्