Techie IT
Mission Khabar

दाङको टरिगाउँ विमानस्थलमा दैनिक उडानको तयारी, दाङसँगै सल्यान र रोल्पाबासीलाई राहत


दाङ – हप्तामा तीनदिन मात्र उडान हुँदै आएको दाङको टरिगाउँ विमानस्थलमा अब दैनिक रुपमा हवाई सेवा सञ्चालन गरिने भएको छ । नेपाल वायु सेवा निगमका अनुसार पुस १२ गतेदेखि तुलसीपुरमा दैनिक रुपमा उडान भर्न लागिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको नेतृत्वमा नेपाल वायुसेवा निगमको जहाजले यहाँ उडान सेवा सञ्चालन गर्दै आएकोमा पटक पटक सञ्चालन हुने र बन्द हुने अबस्था दोहोरिरहेको थियो । अब भने उडानले नियमितता र निरन्तरता पाउने बताइएको छ । नेपाल एयरलाइन्सले नै दैनिक विमान सञ्चालन गर्ने र बाँकी विमानको उडान पछि थप्ने बताइएको छ । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि भने नियमित बनाउने पहल सुरु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे यात्रुको चाप र सुविधालाई ध्यानमा राखेर दैनिक विमानस्थल सञ्चालनमा जुटेको र नियमित गराउने बताउँछन् ।

२०११ सालमा टरिगाउँ विमानस्थलमा जहाज चल्न शुरु भएको थियो । तर विमानस्थल कहिल्यैपनि नियमित हुन सकेन । टरिगाउँ विमान स्थलबाट नियमित उडान सुरु भएमा दाङ लगायत सल्यान र रोल्पाबासीले सहज यात्रा गर्न पाउनेछन् । विमानस्थलमा टर्मिनल भवन निर्माणको प्रक्रिया अघि बढाइनु र अस्थायी इन्धन डिपो निर्माणको पहल हुनुले पनि यो विमानस्थलको उडानले निरन्तरता पाउनेमा आशावादी हुन सकिन्छ ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्