Techie IT
Mission Khabar

हवाई दुर्घटना निरन्तरताको कारण खोज्दै दिर्घकालिन निराकरणमा राज्यको मौनता, यस्तो छ–विज्ञको सुझाब


काठमाडौं– नेपालमा हवाई दुर्घटनाको इतिहासले रेकर्ड बनाइरहेको छ । हरेक वर्ष जसो नेपाली आकाशमा कुनै न कुनै विमान दुर्घटना हुँदै आएका छन् । पछिल्लो पटक बुधबार ताप्लेजुङमा एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाएका छन् ।

पटक–पटक दोहोरिने दुर्घटना र यसको निराकरणका लागि भन्दै छानविन गर्न समिति पनि गठन गरिदै आइएको छ । अनि उक्त समितिले प्रतिवेदन पनि दिदै आएका छन् । दुर्घटनाको निरन्तरताले छानविन आयोगका प्रतिवेदनमाथि नै शंका उब्जाउन थालेका छन् । नेपाली आकाशमा भैरहेको विमान दुर्घटना बारे विज्ञहरु पनि एकमत छैनन । आखिर किन निरन्तरता पाइरहेको छ त दुर्घटनाले ? नागरिक उड्डयन प्राधिकरण, पूर्व महानिर्देशक ललितविक्रम शाह तालिम सञ्चार र प्राविधिक यन्त्रको कडाईपूर्वक नियम लागू नगर्दा दुर्घटनाले निरन्तरता पाएको बताउँछन् । प्रमुख समस्या भूगोल र मौसम भएपनि अरु प्राविधिक पक्ष ख्याल नगरिनु ठूलो कमजोरी भएको शाहको ठम्याई छ । विगतका छानविन र त्यसका निर्देशनलाई राज्यले कडाइकासाथ लागू गर्नुपर्ने उनको सुझाब छ ।

नागरिक उड्डयन प्राधिकरण अर्का पूर्व महानिर्देशक ई.वीरेन्द्रबहादुर देउजा भूगोल, वस्तुस्थिति र लापरवाहीलाई प्रमुख कारण मान्छन् । ‘ग्राउण्ड प्रक्सिमिटी वार्निङ्ग सिस्टम’ ले मौसमका कारण काम नगर्ने अवस्थामा पाइलट–एयरपोर्ट र कन्ट्रोलरबीचको समन्वय विशेष रुपमा रहनुपर्ने उनी बताउँछन् । पाइलटले पनि उडानको अवस्था हावापानी बिचार नगरि तनाव वा दबाबमा परेर उडान भर्न नहुने देउजा बताउँछन् । क्या.प्रचण्डजङ्ग शाह जबर्जस्ती उडान भर्दा धेरै जोखिम ब्यहोर्नुपरेको बताउँछन् । पछिल्लो दुर्घटना पनि पाइलट दबाबमा पर्दाको उपज भएको शाहको बुझाई छ । बढ्दो हवाई दुर्घटनामा भूगोल अनि मौसम पनि कारक भएको उनको दाबी छ ।

नेपालमा हवाइ उडान इतिहासको ६८ वर्षमा ७४ वटा ठूला दुर्घटना भएका छन् । यी दुर्घटनाबाट ८ सय भन्दा बढीले ज्यान गुमाएका छन् । सन् १९५५ मा कालिंङगा एयरको बिमान सिमरा एयरर्पोटमा दुर्घटना भएपछि श्रृङ्खलाबद्ध रुपमा दुर्घटना दोहोरिरहेका छन् । भूगोल र मौसमी प्रतिकुलता त कारक छ नै पाइलटले ब्यहोर्नुपर्ने दबाब र मानसिक तयारी बिनाको उडान पनि जोखिम बनिरहेको छ ।

मौसमको तत्कालिन फेरबदल बारे सूचना प्रवाह गराउन र पाइलटलाई मानसिक रुपमा तयार भएपछि मात्रै उडान भराउन अनि विमानस्थलको प्रविधि र सूचनाको प्रभावकारी आदानप्रदान गराउन सके पनि दुर्घटनाको निरन्तरतामा केही लगाम लाग्ने निश्चित छ । यतातर्फ, सरकार र सरोकारवाला गम्भिर बन्नैपर्छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्