Techie IT
Mission Khabar

आगामी आर्थिक बर्षका लागि प्राधिकरणले स्विकृत गर्यो १ खर्ब ५६ अर्बको बजेट, ग्रामिण आभाष निर्माण सुस्त


काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले आगामी आर्थिक वर्षमा पुनर्निर्माण तथा पुनस्थापनाका लागि भन्दै १ खर्ब ५६ अर्ब रुपैयाँको बजेट स्वीकृत गरेको छ । प्राधिकरणले पुनर्निर्माण तथा पुनस्थापना सम्बन्धी पञ्च वर्षीय योजनाको कार्यान्वयनका लागि यसअघि निर्धारण गरेको कूल ९ खर्ब ३८ अर्ब बराबरको वित्तीय आवश्यकतालाई पुनरावलोकन गरेर नेपाल सरकारको बजेटरी प्रणालीबाट नेपाल सरकार एवं दातृ निकायको स्रोत समेतबाट कुल ६ खर्ब ३० अर्ब बराबरको वित्तीय स्रोत परिचालन गर्ने प्रस्ताव अघि सारिएको छ ।

वित्तीय योजनाको खाकालाई आधार मानी आगामी वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने निर्णय गरिएको छ । नेपाल सरकारमार्फत पुनर्निर्माण तथा पुनस््थापनामा चालू आर्थिक वर्षको संशोधित अनुमान सहित २ खर्ब ९१ अर्ब रुपैयाँ खर्च हुनेछ । त्यसअतिरिक्त विभिन्न गैरसरकारी संस्थाहरु एवं निजी क्षेत्रहरुबाट पनि पुनर्निर्माण र पुनस्थापनाको काम भैरहेको छ । भूकम्प प्रभावित क्षेत्रमा आर्थिक तथा सामाजिक पुनरस्थापनाका कार्यक्रमहरु सञ्चालन गर्ने, प्राधिकरणको पहलमा कम्तिमा ७५ वटा एकीकृत बस्तीहरुको पुनर्निर्माण सम्पन्न गर्ने तथा जोखिमयुक्त बस्तीहरुको संरक्षण गर्ने लगायतका योजनाहरु नयाँ कार्यक्रममा समेटिएका छन् ।

निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवासतर्फ ८१ प्रतिशत, विद्यालयतर्फ ८८ प्रतिशत, स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनतर्फ ५६ प्रतिशत र सरकारी भवनतर्फ ९८ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणको तथ्यांक छ । तर भूकम्प प्रभावित पहाडी जिल्लाका अधिकांश नीजि घर अहिलेसम्म बन्न नसकेका दृश्यले भने प्राधिकरणको तथ्यांकलाई विश्वास गरिहाल्न गाह्रो बनाएको छ । दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखल्ढुंगा सोलुखुम्बु, रसुवा, धादिङ, नुवाकोटमा अझै ५० प्रतिशत पनि निजि घर बन्न सकेका छैनन् । बजेटसँगै यो ढिलाई हटाउन प्राधिकरणले आवश्यक पहल गरोस् ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्