Techie IT
Mission Khabar

हिमालपारिको गाउँपालिका चुमनुब्री सडक सञ्जालमा जोडियो, तीन बर्षभित्र सीमानाका जोडिने


काठमाडौं\गोरखा । बेनिघाट–आरुघाट–लार्के सडकले हिमालपारिको गाउँपालिका चुमनुब्रीलाई सडक सञ्जालमा जोडेको छ । नेपाली सेनाले निर्माण गरेको सडक सञ्जालको दुई बर्षे अवधिमा २६ किलोमिटर सडक खनेर चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबाससम्म पुर्याइएपछि हिमालपारिको गाउँपालिका चुमनुब्रीमा सडक सुविधा पुगेको हो ।

सडक निर्माण कार्यदलका प्रमुख इञ्जिनियर मेजर निशान्त क्षेत्रीले थप तीन किलोमिटर निर्माण गरेपछि गाउँपालिकाको केन्द्र ‘फिलिम’को वारिसम्म सडक पुग्ने बताए । सेनाले २०७४ साल बैशाख १४ गतेदेखि लापूको हावाडाँडाबाट यो सडक निर्माण कार्य सुरु गरेको थियो । सडक निर्माणका क्रममा धार्चेको माछाखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको र बेलिब्रिज बनेपछि तातोपानीसम्म गाडी चल्ने मेजर क्षेत्रीले जानकारी दिए । यता, तिब्बतको सीमानामा पर्ने लार्के भञ्ज्याङसम्मको सडक सर्भेको काम समेत अन्तिम चरणमा पुगेको बताइएको छ । सल्लेरीमा तेस्रो क्याम्प खडा गरी ट्रयाक निर्माणको कामलाई तीब्रता दिइएको छ ।यसअघि पहिलो क्याम्प अर्मलामा र दोस्रो क्याम्प माछाखोलामा खडा गरेर कामलाई तिब्रता दिइएको थियो । चारदेखि आठ मिटर फराकिलो सडकलाई सुचारु गर्न भने ठाउँठाउँमा थप सुधारको काम गर्नुपर्ने छ ।

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाटबाट चीनको सीमासम्म कुल १८० किलोमिटरको सडकको हावाडाँडादेखि लार्केभन्ज्याङसम्म करिब १२० किलोमिटर निर्माण गर्ने जिम्मा नेपाली सेनाले पाएको छ । प्राविधिकसहित सेनाको ८५ जनाको टोली सडक निर्माणमा खटिएको छ । काममा जटिल खालका अवरोध नआए अबको तीन वर्षमा चीनको सीमा नाकासम्म ट्रयाक खोल्ने काम सम्पन्न हुने देखिन्छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्