Techie IT
Mission Khabar

लक डाउनलाई चुनौती, ६० जना मजदुर परिचालन गरेर दोलखामा बन्दैछ नमुना वस्ती


सुरज बस्नेत, दोलखा । सिंगो देश लकडाउन भएको महिनादिन बित्यो । अधिकांश बजार पसल मात्रै होइन लक डाउनले सडक समेत सुनसान बनेका छन् । अत्यावश्यक सेवा तथा बस्तुको उत्पादन तथा बिक्रिबितरण बाहेक सबै कुरामा रोक लागेको छ । तर कोरोनाको महामारीबाट बच्न पुरै देश लक डाउन भैरहँदा दोलखास्थित जिलु नमुना एकिकृत बस्तीमा भने दिनहु सरकारी निर्देशनको उल्लंघन गर्दै सिंगो बस्ती निर्माण भैरहेको छ ।

करिब ६० जना मजदुर एकै ठाउँमा भेला गराएर लक डाउनको सरकारी निर्देशनलाई नै चुनौती दिने काम जिलु क्षेत्रमा भैरहँदा स्थानीय समेत कोरोनाको संक्रमण झेल्नुपर्ने हो कि भन्ने त्रासमा छन् । सरकारले शिक्षा, उद्योग, कलकारखाना, पसल व्यवसाय सबै बन्द गराएर भीडभाड नियन्त्रण तथा सामाजिक दूरी कायम आह्वान गरिरहेको छ । तर यहाँ बस्ती निर्माणको निरन्तरताले गाउँभर त्रास बढाएको छ । स्थानीयले भिमेश्वर नगरपालिका र स्थानीय वडा कार्यालय मार्फत बस्ती निर्माण रोकेर त्रासमुक्त बनाउन पहल पनि गरे । तर जिल्ला प्रसासनको सिफारिसका आधारमा बस्ती निर्माणलाई निरन्तरता दिएको दाबी गर्ने भिमेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षले बिरोध गर्ने स्थानीयलाई उल्टै अराजक तत्व भन्दै गाली गलौच गरेको स्थानीय बताउँछन् । स्थानीय सरकार नै लक डाउन उल्लंघनका सहयोगी बन्दा आफूहरुको गुनासो सुनुवाई नभएको र त्रासमा बाच्नुपरेको जिलु क्षेत्रका बासिन्दाको गुनासो छ ।

वडा नम्बर ४ को नमूना बस्ती निर्माणका क्रममा ५०, ६० जनाको खुल्ला रुपमा आवाज जावात भैरहेको छ । अझ स्थानीय त लामो समय सुरु नभएको नमुना बस्तीको काम नै लकडाउनपछि शुरू भएको र दाङ, रौतहट, रुकुमबाट आएका कामदारले निर्वाध काम गरिरहेको बताइरहेका छन् । सरकारले घोषणा गरेको लक डाउनको उल्लंघन र स्थानीयको गुनासो बिपरित काम भएको बारे मिसन खबरले भिमेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष हरिवंश चौलागाईंसँग बुझ्दा आफ्नो वडामा मात्र नभएर अरु ठाँउमा पनि घर तथा पूर्वाधार निर्माणको काम भैरहेको बताए । उनले वडाबासीको स्वास्थ्यप्रति आफू चिन्तित रहेको दाबी गरेपनि बिहान बेलुकीको समय पारेर अझै ५०\६० टिप्प गिट्टी बालुवा ल्याएर काम सक्ने गैह्र जिम्मेवार जवाफ दिए ।

गाउँ गाउँमा सिंगदरबार भनिए पनि आफू नजिकै भएको स्थानीय सरकारको समेत आभास गर्न नपाएको अनुभव गर्ने जिलुवासी स्थानीय सरकारले आवश्यकतामा भन्दा पनि सनकमा काम गरिरहेको बताउन थालेका छन् । अझ खाद्यान्नको पोस्टर टासेर इट्टा, रड लगायतका निर्माण सामग्री बोक्ने गाडीलाई समेत निर्वाध आवतजावत गर्न दिएर स्थानीय सरकारले लक डाउनको उल्लंघन गरिरहेको आरोप स्थानीयको छ । बस्ती निर्माणका नाममा भीडभाड र जोखिम बढेको छ छैन एकिन गरेर सबैलाई मानसिक तथा स्वास्थ्यका हिसाबले सुरक्षित राख्नेतर्फ सरोकारवालाको ध्यान पुगोस् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्