Techie IT
Mission Khabar

लिपुलेकमा उदांगिएको भारतीय हस्तक्षप, कहिले सम्म थिचोमिचो बिरुद्ध मौन रहने नेपाल सरकार ?


काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएर उद्घाटन गरेपछि नेपालमा भारतको चर्को बिरोध भयो । युवा विद्यार्थीहरु आन्दोलित हुँदा सबैजसो राजनीतिक दलले भारतीय कदमको बिरोध गर्दै सरकारले कुटनीतिक तहबाट तत्काल निकास खोज्नुपर्ने धारणा व्यक्ति गरे । नेपाल सरकारले आपत्ति जनाउँदै विज्ञप्ती नै जारी गरेर भारतलाई एकलौँटी रुपमा नेपाली भुमिमा बनाइएको सडकबारे गम्भिर ध्यानाकर्षण गरायो ।

नेपालमा भारत बिरोधी जनमत बढ्दैगर्दा भारतीय विदेश मन्त्रालयले यो सडक भारतीय क्षेत्रमा नै बनेको दाबी गर्दै नेपाल सरकारलाई जवाफ फर्काएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती मार्फ नयाँ सडकले कैलाश मानसरोवर यात्राका तीर्थयात्रीहरुले प्रयोग गर्ने पहिलाकै बाटो पछ्याइएको उल्लेख मात्रै गरेको छैन नेपाल र भारतको सीमा विवाद समाधान गर्न संयन्त्र बनेको भन्दै कूटनीतिक सम्वादबाट समस्या समाधान गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

दुबै देश कोरोना महामारीपछि परराष्ट्र सचिवस्तरीय वार्ताको मिति तय गर्न प्रयासरत रहेको भारतीय विदेश मन्त्रालयले जनकारी गराइरहदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा भारतले नेपालको १९ किलोमिटर भूमि मिचेको दाबी गरेका छन् । आइतबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नेपाली भूमि मिचेर सडक निर्माण गरे प्रष्ट भएपनि विस्तृत विवरण दिल्ली दूतावासमार्फत् नै मगाइएको जानकारी दिएका थिए । नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको पूर्वजानकारी भएको र पटक पटक सचेत गराउँदा समेत भारतले नटेरेको उनले दाबी गरे ।

सुगौली सन्धिलाई परिवर्तन गर्ने गरी अर्को सन्धि नभएको समयमा नेपाल भारत सीमा काली नदी हो । अनी सीमा क्षेत्रमा कुनैपनि विकास निर्माण लगायतको काम गर्दा द्धिपक्षिय वार्ता वा सम्वादमार्फत निर्णयमा पुग्नुपर्ने भएपनि भारत सीमा क्षेत्रमा किन एकतर्फी अघि बढिरहेको छ ? यसले भारतको हेपाहा प्रबृत्ति मात्रै उजागर गरेको छैन नेपालको कमजोर कुटनीति उदांगो पारेको छ । सीमाविद्हरु समेत नेपालले समस्या बल्झिएका सीमा क्षेत्रको बिवाद समाधानमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने भन्दै भारतीय बिस्तारवाद बिरुद्ध खरो रुपमा उत्रिन आग्रह गरिरहेका छन् ।

चीन र भारतबीच लिपुलेकलाई ब्यापारिक केन्द्र बनाउने सहमति हुँदादेखी नै नेपालमा चौतर्फी बिरोध भएपनि सरकारले प्रभावकारी रुपमा हस्तक्षपकारी भुमिका खेल्न सकेको छैन ।  भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुर्याएको भन्दै नेपालभर विरोध भइरहेको छ भने नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्ति निकालेर आपत्ती जनाइसकेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्