Techie IT
Mission Khabar

संक्रमित क्षेत्रबाट दैनिक ३ हजार चालक र सहचालक काठमाडौं भित्रिदै, जोखिमको आँकलन


काठमाडौं । अनावश्यक आवतजावत रोकेर लकडाउन थप कडाई गर्ने भन्दै विभिन्न स्थानीय तहलाई गृह मन्त्रालयले पत्राचार गरेको छ । अत्यावश्यक कामले काठमाडौँ आउन समेत आरडीटी जाँच गरेर नेगेटिभ नतिजा आएका सर्टिफिकेट चाहिने भनिदैगर्दा अहिले पनि दैनिक ३ हजार बढीको ओहोरदोहोर भैरहेको छ ।

संक्रमण फैलिदै गरेको क्षेत्रबाट काठमाडौं भित्रिने मालबाहक सवारीका चालक र सहयोगीहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्थित प्रणाली नहुँदा उपत्यकामा कोरोना संक्रमणको जोखिम थप बढेको छ । ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार अहिले पनि दैनिक ३ हजारको हाराहारीमा चालक, सहचालक र सहयोगीहरु उपत्यकामा भित्रिने गरेका छन् । संक्रमण बढ्दै जाँदा सरकारले काठमाडौं उपत्यका छिर्न कडाइ गरे पनि संक्रमित जिल्लाबाट आउने मालबाहक सवारीका चालक र सहयोगीहरुबाट बढ्नसक्ने जोखिम बारे कसैले सोचेको देखिदैन ।

६ गतेदेखी यताको तीन दिनमा मात्रै ४ हजार २ सय ८१ ट्रक, टिपर र लाइट गाडी काठमाडौं भित्रिदा ७ हजार ६९ जना काठमाडौं प्रवेश गरेको रेकर्ड छ । पछिल्लो तीन दिनमा मात्रै ४९ यात्रु बाकेर ३ वटा बस भक्तपुरको जगाती नाका हुँदै काठमाडौं भित्रिएका छन् । बिहीबार बिहान ६ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मको २४ घन्टामा मात्रै १४ सय ६ वटा ट्रक र टिपर, ३ सय ५१ हलुका सवारीसाधान र एउटा बस काठमाडौं भित्रिएका छन् । ट्रक र टिपरमा २४ सय ४७ जना, हलुका सवारीबाट ६ सय ९४ र बसबाट १३ जना उपत्यका भित्रिएको यो प्रहरीको रेकर्डले नै दैनिक ३ हजार बढी एकैदिनमा काठमाडौं ओहोरदोहोर गरिरहेका छन् भन्ने देखाएको छ ।

सरकारी गाडी र जनप्रतिनिधिको गाडीको ओहोरदोहोर त अझ रेकर्डमै छैन । लकडाउनको ओहोरदोहोरले बढाउनसक्ने जोखिम तर्फ सरकार र सरोकारवाला सबै बेलैमा गम्भिर नबन्दा काठमाडौं उपत्यकामा कोरोनाको जोखिम र त्रासदी बढेको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्