Techie IT
Mission Khabar

सुरुङ मार्गसम्म आइपुग्यो मेलम्चीको पानी, छिट्टै काठमाडौं आइपुग्ने


काठमाडौं । मेलम्चीको पानी काठमाडौं ल्याउने योजना सहित खानेपानी आयोजना निर्माण थालनी गरिएको २० औँ बर्षपछि भने बल्ल मेलम्ची आउला कि भन्ने आशा जागेको छ । कोरोनाको महामारीकाबीच पानी हेडवर्कसबाट सुरुङ मार्गतिर प्रवेश गराएर सुन्दरीजलको भण्डारण ट्याङ्कीमा ल्याउने परिक्षण थालिएसँगै अब छिट्टै मेलम्चीको प्रतिक्षा पुरा हुने संकेत देखिएको हो ।

विश्वभर महामारीको रूप लिएको कोरोना संक्रमण (कोभिड–१९)का कारण मेलम्चीलगायत सबै पूर्वाधार निर्माणका काम ठप्प भएपनि पछिल्लो समय १ सय ५० जनाले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई गति दिएका छन् । पाइप लाइन बिच्छ्याउने काम, सुरुङमार्ग निर्माण लगायतको अधिकांश काम सकिएपनि मुहान क्षेत्रमा ड्याम निर्माण र सुरुङमार्गसम्म पानी ल्याउने काम बाँकी रहेकोमा भर्खरैमात्र सम्पन्न गरिएको छ । मुहान क्षेत्रको काम अन्तिम चरणमा पुगेर ड्यामबाट सुरुङमार्गमा पानी पठाउने काम समेत गरिदैछ । यसले अबको केही दिनमै मेलम्चीको पानी काठमाडौं ल्याउने प्रक्रिया सुरु गरिने आशा जागेको छ ।

तत्काल काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पाइपलाईनबाट पानी घरघरमा बितरण गर्ने योजना भएपनि उपत्यकाका अधिकांश घरघरमा मेलम्चीको पाइपलाईन पुगेको छ । पटक–पटक जिम्मेवारी लिएका निर्माण कम्पनीले समयमा काम नगर्ने, विभिन्न बहानामा काम रोकिने लगायतका समस्याबाट गुज्रिएको मेलम्ची खानेपानी आयोजनाको कोरोनाको महामारीकाबीच अन्तिम चरणमा पुगेको छ । मन्त्रीको प्रतिबद्धता जस्तो असार मसान्तभित्र धारामा पानी नझरेपनि त्यही आसपासमा मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाउने निश्चित जस्तै भएको छ ।

खानेपानीमन्त्री बिना मगरले गत फागुनमा आगामी असार मसान्तभित्रै काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउने भन्दै श्वेतपत्र जारी गरेकी थिइन् । उनले मेलम्ची खानेपानी आयोजनाको काम ९५ प्रतिशत सकिएको जानकारी गाराएपनि पटक पटक फेरिएको भाखाले असारमा आउनेमा धेरै कम मात्रै आशावादी देखिएका थिएनन् ।

मेलम्चीसँगै काठमाडौंको पानी माग पुरा होला त ?

केयुकेएलले अहिले १० करोड ३० लाख लिटर पानी वितरण गरिरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकामा दैनिक १७ करोड लिटर पानी थपिन्छ । तर, अहिलेको पाइपलाईन हेर्दा तीन करोड ४० लाख लिटर पानी चुहावटमै सकिन्छ । चुहावट बाहेक मेलम्चीको १३ करोड ६० लाख लिटर पानी थपिँदा उपभोक्ताको घरसम्म दैनिक २३ करोड ९० लाख लिटर पानी पुग्ने देखिन्छ । करिब ४२ लाख जनसंख्या रहेको उपत्यकाको पानीको माग ४३ करोड लिटर रहेकाले मेलम्ची आयोजना मात्रैले माग धान्ने अवस्था देखिदैन ।

३१ अर्ब ३६ करोड बजेट सहित सुरु गरिएको मेलम्ची आयोजनामा अहिलेसम्म साँढे २८ अर्ब हाराहारी खर्च भैसकेको छ । मेलम्ची खानेपानी आयोजनामै लार्के र याङ्री खोलाको पानी मिसाएर काठमाडौं ल्याउने योजना भएपनि कहिले पुरा हुने निश्चित छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्