Techie IT
Mission Khabar

कमजोर पूर्वाधारमा कोरोनाको उपचार, आश्वासन मात्रै कि सुधारको थालनी ?


काठमाडौं । देश कोरोना रोकथामका लागि भन्दै दुई महिनादेखी ठप्प छ । संक्रमण रोकथामका लागि लकडाउन जारी राखिदा कोरोना संक्रमितहरु दिनप्रतिदिन बढिरहेका छन् । तीन महिनामा देशका ७ वटै प्रदेशमा कोरोनाको संक्रमण बिस्तार हुँदा ४२ जिल्लामा संक्रमित पहिचान भएका छन् । ६ सयबाट संक्रमितहरु उकालो लाग्दा क्वारेन्टाइन र आइसोलेसनमा समस्या भएको, खाना,खाजाको समस्या, पिउने पानी नपाएको लगायतका गुनासो बढिरहेका छन् ।

देशको तराई मधेशका सबै जिल्लामा बिस्तार भएको कोरोना प्रदेश १, बागमती, गण्डकी, प्रदेश पाँच, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लासम्म पुगेको छ । कोरोनाको महामारी रोक्न क्वारेन्टाइनमा राखेर संक्रमित भए नभएको पहिचान गर्न भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा हजारौँको संख्यामा क्वारेन्टाइन बनेका छन् । तर विश्व स्वास्थ्य संगठनको मापदण्ड र पूर्वाधारका हिसाबले कमजोर हुँदा क्वारेन्टाइनमै नबसी भाग्नेहरु बढिरहेका छन् । बस्नेहरु पनि समुहमा बस्नुपर्दा थप संक्रमित हुनुपर्ने जोखिममा छन् ।

क्वारेन्टाइन मात्रै होइन्, पूर्वाधार अभावले कोरोना पुष्टि भएकाहरुको उपचार सेवा समेत प्रभावकारी देखिएको छैन । एकातर्फ क्वारेन्टाईन, आइसोलेसन लगायतको पूर्वाधार नै न्यून अर्कोतर्फ बिरामीको उपचारमा समेत चरम बेवास्ता, यसले संक्रमितहरुसँगै आम जनतामा निरासा बढाइरहेको छ ।

यस्तो छ देशभर कोरोना रोकथाम र उपचारको पूर्वाधार

देशभर आइशोलेशन बेडको संख्या ३ हजार ७६ भएकोमा कोरोनाको लागि मात्रै ९ सय ७४ छुट्याइएका छन् । देशभर १ हजार ५ सय ९५ आइसीयू बेड भएकोमा कोरोना उपचारका लागि मात्रै भनेर ३ सय ४५ वटा तयारी अवस्थामा राखिएका छन् । देशभर भेन्टिलेटरको संख्या ८ सय ४० भएपनि गम्भिर अवस्थाका १ सय ४६ कोरोनाका बिरामीले मात्रै भेन्टिलेटर सुविधा पाउने छन् । संख्यात्मक हिसाबले मात्रै होइन्, पूर्वाधार र श्रोत साधनका हिसाबले समेत कोरोना संक्रमितले उपचारका लागि तयार गरिएका कोरोना अस्पतालको अवस्था नाजुक छ । एउटै सौँचालय धेरैले प्रयोग गर्नुपर्नेे, पिउनका लागि तातोपानी नपाउने, समयमा खाजा खानाको ब्यवस्था नहुने लगायतका गुनासो अधिकांश आइसोलेनमा छ ।

चितवन लगायतका कतिपय कोरोना अस्पताल संक्रमित आफैले सफा गरेको अवस्थाले पनि उपचारमा भैरहेको सरकारी बेवास्था उजागर गरेको छ । कोरोना संक्रमित डिस्चार्ज भएपछि समेत खासै सरसफाई नगरिने आइसोलेसन बेडले जोखिम बढाइरहेको स्वयम संक्रमितहरु बताउँछन् । अक्सिजन र प्रेसर नाप्ने मेसिन समेत एउटै प्रयोग गरिदा एकचोटी नेगेटिभ रिपोर्ट आएकाहरुमा समेत थप संक्रमणको डर । औषधी र भ्याक्सीन नबनेको अहिलेको अवस्थामा गुणस्तरिय अनि पोषिला खानेकुराको माध्यमबाट आफ्नो आत्मबल बलियो बनाएर कोरोनासँग लड्नुपर्ने बिरामीहरु गुणस्तरहिन खानपानका कारण थप जोखिममा परेको गुनासो बढिरहँदा सरकारी पक्ष के गरिरहेको छ त ?

नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिका सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले क्वारेन्टाइन र आइसोलेसन पूर्वारको कर्मी र ब्यवस्थापनमा कमजोरी भएको स्विकार गर्दै सुधारको थालनी सुरु भएको दाबी गरे । विश्वस्वास्थ्य संगठनको सबै मापदण्ड पुरा गर्न नसकिएपनि देशको स्वास्थ्य मापदण्ड अनुसार सुधार गरिने प्रतिबद्धता मन्त्रीले जनाउँदैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कोरोना उपचारमा भैरहेको कमजोरी सुधार्न निर्देशन दिएका छन् ।

विराटनगरको कोसी कोरोना अस्पताल, बुटवल, बीरगञ्ज लगायतका कोरोना अस्पताल मात्रै होइन कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै आइसोलेसनकै अभाव हुन थालेको छ । संक्रमण पहिचान भएकाहरु २४ घण्टासम्म क्वारेन्टाइनमै राख्नुपर्ने, गर्मी बढेसँगै सुरु भएको लामखुट्टेको प्रकोपले थप जोखिम बढाउने देखिन्छ ।

कोरोना संक्रमण सुरु भएको चार महिनासम्म क्वारेन्टाइन, आइसोलेसनको संख्या थप्न मात्रै हतारो गर्ने सकारी संयन्त्रले तातोपानी पिउन नपाएको, चाउचाउँ र बिष्कुट खाएर कोरोनासँग संघर्ष गर्नुपरेको, खानपान राम्रो नभएको भन्दै कोरोना अस्पतालबाटै गुनासो गर्नेहरुलाई कहिलेसम्म बेवास्ता गरिरहने ? समयमै कोरोनाको जाँचलाई तिब्रता दिएर संक्रमणको पहिचान गर्न नसकेको सरकार मापदण्ड अनुसारका पर्याप्त आइसोलेसन तयार गरेर आफ्ना नागरिकको ज्यू धनको रक्षाका लागि गम्भिर बन्न सकोस् । आम जनताले सरकारसँग यस्तै आशा गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्