Techie IT
Mission Khabar

सीमा क्षेत्रमा थपिए चार बीओपी, छिट्टै सय बढी सुरक्षा पोष्ट विस्तार गरिने


काठमाडौं । कोरोनाको महामारी चलिरहँदा सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि भन्दै सीमा सुरक्षा चौकी बढाउन थालेको छ । सशस्त्रले दक्षिण तथा उत्तरी नाका क्षेत्रमा पछिल्लो समय मात्रै चार स्थानमा सीमा सुरक्षा चौकी (बीओपी) विस्तार गरेको हो ।

कोभिड–१९ महामारीको बीचमा स्थापना गरिएका सुरक्षा चौकीमा उत्तरी नाकाम दुई र भारततर्फको नाकामा दुई रहेको सशस्त्र प्रहरी प्रवक्ता प्रवीनकुमार श्रेष्ठले जानकारी दिए । बीओपीको स्थापनासँगै सीमा अतिक्रमण र आपराधिक क्रियाकलापमा नियन्त्रण आउने सशस्त्रको दाबी छ । डडेल्धुराको जोगबुढासहित दुई स्थान, बैतडीको झुलाघाट, दार्चुलाको छाङरुङ, हुम्लाको हिल्सा र मुस्ताङको कोरोला नजिक लोमाङ्थाङको नेचाङमा नयाँ बीओपी स्थापना भएको छ । यी पोस्टहरूको नेतृत्व सशस्त्र प्रहरी निरीक्षकले गरेका छन् ।

यस्तै, उत्तरी नाकाअन्तर्गत सङ्खुवासभाको किमाथाङ्का र सिन्धुपाल्चोकको तातोपानी नाकामा यसअघि नै सशस्त्र प्रहरीले आफ्नो उपस्थिति देखाएको छ । ताप्लेजुङ, सिन्धुपाल्चोक, गोरखा, बझाङ र डोल्पालगायतका जिल्लामा बीओपी स्थापनाको तयारी भएको बताइएको छ ।

भारतसँग सीमा जोडिएको नेपालको उत्तर तथा पूर्व–पश्चिम भागको एक हजार नौ सय किलोमिटर क्षेत्रमा १७ किलोमिटरको दूरीमा बीओपी स्थापना गर्नुपर्ने भएपनि अहिले १ सय २१ वटा बीओपी मात्रै छन् । तत्कालै बढाएर २ सय २१ र्पुयाउने योजना सहित काम अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाली भूमिको सुरक्षा तथा अतिक्रमण नियन्त्रण र सीमा नाकाबाट हुने अवैध तथा आपराधिक क्रियाकलाप रोक्न पाँच सय बीओपी निर्माणका लागि सरकारसँग सशस्त्रले प्रस्ताब गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर सुरक्षा विभागका प्रमुख अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा बीओपी थप गरिएसँगै जनशक्ति तथा भौतिक संरचना र क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताउँछन् । करिब ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरीमा बीओपी थपिएसँगै दक्ष जनशक्ति थप्नुपर्ने र संरचना तथा सुरक्षा सामाग्री लगायतको बस्दोबस्तीका सरसामान जोहो गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्