Techie IT
Mission Khabar

स्वास्थ्य मन्त्रालय र सीसीएमसीबीच टकराब, कोरोना जाँच र उपचार प्रभावित हुने चिन्ता


काठमाडौ । सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मार्फत नेपाली सेनालाई नोभल कोरोना महामारीसँग जुध्ने राष्ट्रिय अभियानमा मुख्य जिम्मेवारी सहित सक्रिय बनाएको छ । नागरिक शासनलाई कमजोर बनाएर शैन्य शक्तिलाई प्रधानमन्त्रीले बलियो बनाएको आरोप लाग्दैगर्दा नेपाली सेनालाई कोरोना रोकथाम लगायतको गहन जिम्मेवारी दिएको केही साता नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीबीच द्धन्द्ध सुरु भएको छ ।

सरकारले सीसीएमसी मार्फत कोरोना रोकथाम, क्वारेन्टाइन व्यवस्थापन र संक्रमितको उपचारको योजना बनाउने र कार्यान्वयन गर्ने गरिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमण रोथामको अभियानमा आफ्नो अग्रणी भूमिका यथावत रहेको दाबी गरेको छ । यसले सरकार कोरोना रोकथाममा असफल भयो भनिदैगर्दा संक्रमण नियन्त्रण र स्वास्थ्य सेवा थप प्रभावित हुने संकेत देखिएको छ । कार्यक्षेत्रलाई लिएर सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच अन्यौल बढ्दा कोरोना संक्रमित र प्रभावितहरु लक्षित सेवामा असर पर्ने आँकलन गरिदैछ ।

स्वास्थ्य मन्त्रालयको असहयोगका बीच मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको सीसीएमसी अन्तर्गतको सहजीकरण समितिले कोरोना रोकथाम तथा लकडाउन व्यवस्थापनको आगामी रणनीतिबारे अध्ययन थालेको छ । अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री खरीद गर्दा स्वास्थ्य मन्त्रालय विवादमा तानिएपछि गत चैत्र १६ गते त्यस्ता सामग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेलगत्तै स्वास्थ्य मन्त्रालयको सेनाको गतिबिधिमा सशंकित भएको थियो ।

सीसीएमसीको कार्यालय छाउनीस्थित ब्यारेकमा रहनु, चीनबाट १७५ विद्यार्थीलाई ल्याई १४ दिन क्वारेन्टिनमा सुरक्षित राख्न प्रभावकारी भूमिका खेलेको सेनाले मुलुकमा स्वास्थ्य सुरक्षा सामग्रीको वितरण, स्वाब संकलन, खोजपड्ताल, क्वारेन्टिन व्यवस्थापनमा सक्रिय भूमिका खेल्न थालेपछि स्वास्थ्य मन्त्रालय र यहाँका कर्मचारी ओझेलमा पर्ने डरले सीसीएमसीलाई असहयोग गर्न लागिपरेको कतिपयको आरोप छ । तर सेनाले जीटुजी मार्फत खरिद गरेको स्वास्थ्य सामाग्री नै मन्त्रालयले महंगोमा किन्नुपरेको बिषय अहिले ओभेलमा परेको छ । यो बीचमा स्वास्थ्य मन्त्रालयले दातृनिकायसँग मिलेर विश्वव्यापी कोभिड १९ महामारीका लागि स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजना बनाएको र उक्त योजनाका आधारमा हेल्थ इमरजेन्सी लगाउने तयारी गरिहँदा सीसीएमसीका प्रतिनिधिहरुले असहयोग गरिरहेका छन् ।

लकडाउन खुकुलो बनाउनु पर्ने दबाब सरकारमाथि परिरहेका बेला स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल मार्फत लकडाउनको समय अवधि थप गर्नुपर्ने र कोरोनाका लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्नुपर्ने कार्ययोजना बनाएकोमा सीसीएमसीको बिरोध छ । अझ, स्वास्थ्य मन्त्रालयले लक्षण देखिएका संक्रमितलाई १४ दिन राख्ने, थप ३ दिनमा समस्या नआए घर पठाउने नयाँ गाइडलाइन सार्वजनिक गरेर उपचाररत संक्रमित स्वस्थ भए नभएको एकिन नगरि घर पठाएको बिषयले समेत सरकारको आलोचना भैरहेको छ । लक्षण नदेखिएकालाई १४ दिन क्वारेन्टिनमा राखेर परीक्षण नगरी घर पठाउने स्वास्थ्य मन्त्रालयको गाइडलाइनले समेत मन्त्रालय र सीसीएमसीबीचको द्धन्द्ध बढाएको देखिन्छ ।

यहि द्धन्द्धका कारण स्वतस्फूर्त रुपमा पसल खोलेका व्यवसायीहरु समेत प्रहरीको निशाना बन्न थालेका छन् । लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा स्वास्थ्य मन्त्रालय, सीसीएमसीसँगै सरकार अलमलिँदा सर्वसाधारण सास्ती खेपिरहेका छन् । यद्यपी सडक तथा बजारमा भने लकडाउन उल्लंघन गरेर भीडभाड बढिरहेको छ । सरकारले १८ जेठयता लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । सरकारी अलमलले आजित भएको साना उद्योगी–व्यापारीहरुको छाता संस्था नेपाल राष्ट्रिय व्यावसायी महासंघले २१ जेठमा निर्णय गराएर २२ जेठदेखि पसल खुला गराएपनि अहिले प्रहरी धरपकड जारी छ । काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरुले पसल खोल्न अबरोध नगर्नु भन्ने मौखिक निर्देशन दिएपनि प्रहरी प्रष्ट निर्देशन नआएको नाममा बन्द गराउने र धरपकड गराउन सक्रिय छ ।

स्वास्थ्य मन्त्रालय र सीसीएमसीको अधिकार क्षेत्र र कार्ययोजनाको लडाइको असर कोरोना रोकथाम तथा लकडाउनको मोडालिटि कसरी परिवर्तन गर्ने भन्नेमा समेत देखिएको छ । सुस्त परिक्षण, कोरोना जाँच तथा क्वारेन्टाइन र आइसोलेसमा भैरहेको सरकारी बेवास्ता, लकडाउनको निरन्तरताबाट व्यवसायी मात्रै होइन्, सर्वसाधारण समेत आजित बन्दा सरकारप्रतिको आक्रोश बढिरहेको छ । सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीचको टकराबले कोरोना जाँच, लकडाउनको मोडालिटी परिवर्तन र संक्रमितको उपचारसेवा थप प्रभावित हुने चिन्ता बढ्न थालेको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्