Techie IT
Mission Khabar

सामाजिक अभियन्ता महाबीर पुनको योगदान, नेपालमै बन्दैछ स्वाब संकलन मेसिन


काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सक्रिय भूमिका निभाउँदै आएको राष्ट्रिय आविष्कार केन्द्रले अब स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन बनाउने भएको छ । आविष्कार केन्द्रका अध्यक्ष तथा सामाजिक अभियन्ता महाबीर पुनले आवश्यक सामग्री जापानबाट नेपाल आइसकेको र स्वाब संकलनका लागि आवश्यक पर्ने मेसिन केही दिनमै तयार हुने सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

पुनका अनुसार १४ लाख रुपैयाँ मूल्य पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने थ्रीडी प्रिन्टर र अन्य सामाग्री नेपाल एअरलाइन्समार्फत केहि दिनअघि काठमाडौं आइपुगेको छ । ‘राष्ट्रिय आविष्कार केन्द्रमा जापानबाट कोरोना स्वाब निकाल्ने सुईरो बनाउन रु. १४ लाख पर्ने थ्रीडी प्रिन्टर र कोरोना रोकथाम गर्न चाहिने अन्य सामानहरु नेपाल एअरलाइन्समार्फत केही दिनअघि काठमाडौं आइपुग्यो । यसको लागि एनआरएनए जापान, एमआरआर जापान र अन्य नेपालीहरुले रु. २१ लाख आर्थिक सहयोग गरेका थिए ।,’ पुनको ट्वीटरमा भनिएको छ ।

कोरोना रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सामग्री सहयोग स्वरुप आएको उनले जानकारी दिए । यसअघि पुनको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्रले कोरोना रोकथामका लागि आवश्यक पर्ने माक्स, पीपीई उत्पादन गरी स्वास्थ्यकर्मी लगायतलाई उपलब्ध गराएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्