Techie IT
Mission Khabar

कोरोनासँगै मनसुनी वर्षाको असर, देशभर पहिरो, बाढी र डुवानको जोखिम

काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको जोखिममा


काठमाडौं । कोरोनाको कहर जारी रहँदा नेपालमा बाढी र पहिरोको जोखिम बढ्न थालेको छ । मनसुन सक्रिय भएसँगै देशका कतिपय स्थानमा बाढी पहिरोको प्रकोप नै सुरु भएको छ ।

जेठ ३१ गते शनिबार पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा पहिरो जाँदा दुई परिवारका ८ जनाको ज्यान गयो । असार ६ गते गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृत्यु भयो भने ४ जना घाइते भए । सोमबार मात्रै पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका–११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले चारवटा सवारी साधन बगाउँदा तीन जनाको ज्यान गयो ।

काठमाडौंलाई तातोपानी नाकासँग जोड्ने सडक खण्डमा पहिरो खस्न थालेको छ । नारायणघाट मुंलिङ सडक खण्ड, हेटौँडा काठमाडौं सडकखण्डमा पहिरो खसेर अवरोधले निरन्तरता पाउन थालेको छ । संखुवासभामा पहिरो खस्दा अरुण नदी नै थुनिने अवस्था आयो । तराईका कतिपय पुल पग्न थालेका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ ईखावुस्थित रानी आधारभूत विद्यालय भवन नै पहिरोले बगाएको छ ।

देशको तराई क्षेत्रमा ढुवानको जोखिम बढ्दैगर्दा राजमार्ग र पहाडी क्षेत्रमा पहिरोको प्रकोप सुरु भएको छ । देशका धेरै स्थानमा पहिरोको जोखिम बढ्दा काठमाडौं उपत्यकाका १ सय ६७ ठाउँमा डुवान र पहिरोको जोखिम देखिएको छ । काठमाडौंका ७४, ललितपुरका ४८ र भक्तपुरका ४३ स्थान बाढी, पहिरो र डुबानको जोखिममा छन् । यी स्थानको सम्भावित जोखिम व्यवस्थापनका लागि बेलैमा कदम चाल्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा विवरणसहित प्रतिकार्य योजना पेस गरे पनि गृहले जोखिम व्यवस्थापनमा चासो देखाएको छैन ।

प्रहरी प्रधान कार्यालयले गृहमा पेस गरेको देशभरिको बाढी, पहिरो, डुबान, कटान र अन्य विपद्सम्बन्धी विवरण अनुसार काठमाडौंका ३३ स्थानमा डुबान, ९ स्थानमा बाढी, १७ स्थानमा पहिरो र १५ स्थानमा जीर्ण संरचना भत्किने जोखिम छ । ललितपुरमा ३९ स्थानमा बाढी र ९ स्थानमा पहिरोको उच्च जोखिमको आँकलन गरिएको छ । भक्तपुरमा डुबान २२, बाढी ८ र पहिरो १३ स्थानमा जान सक्ने प्रहरीको अध्ययनले देखाएको छ ।

यी हुन काठमाडौं उपत्यकाका मनसुनी प्रकोपमा रहेका जोखिम क्षेत्र
वाग्मती, विष्णुमती, गोदावरी, हनुमन्ते, टुकुचा, मनोहरा तथा अन्य खोला र खोस्ला हुँदै बग्ने दुवैतर्फका तटीय क्षेत्र बाढी र डुबानको जोखिममा । कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, कीर्तिपुर नगरपालिकाका सल्यानथान, ट्याङ्लाफाँट, सुन्दरीघाट, काठमाडौं महानगरपालिकास्थित लाजिम्पाट, टुकुचा खोलाको आसपास, तारकेश्वर नगरपालिकाको जरङखु तथा शान्ति टोल, गुम्बारनयाँपुल करिडोर, वनस्थली ढुंगेधारा क्षेत्र, धोबी खोलारमैतीदेवी र थापाथली, चन्द्रागिरि नगरपालिकाका थानकोट, नमुना बस्ती, ढुंगेअड्डा पशुपति ट्रान्सपोर्ट क्षेत्र, बालकुमारी मन्दिर आसपास, लामाचौर, खड्कुलेपुल, कञ्चनबस्ती, विष्णुदेवी आसपासका क्षेत्रलाई डुबान र मानविय क्षतीको उच्च जोखिममा ।

कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारस्थित वाग्मती नदी करिडोर, त्रिपुरेश्वरदेखि टेकुसम्म वाग्मती किनार, कलंकी–बल्खु खोलालाई बाढीग्रस्त क्षेत्रमा राखिएको छ । दक्षिणकालीका चुत्रघारी र हुमाने, म्हैपी मन्दिर परिसर, नागार्जुन नगरपालिका–८ स्थित भीमढुंगा, छकडोल र टौखेल, चन्द्रागिरिका नागढुंगा, पिप्लामोड राजमार्ग क्षेत्र, ढाक्छी, गैरीगााउँ, गोदाम केबलकार आसपास र कंकाली डाँडा पहिरोको उच्च जोखिममा । शान्तिनगर, सुकुम्बासी बस्ती, बुद्धनगर वाग्मती करिडोर, धोबीखोला करिडोर, बूढानीलकण्ठस्थित धोबीखोला करिडोर समेत जोखिमको सूचीमा परेका छन् । भूकम्पको क्षतिपछि सामान्य मर्मत गरिएका वसन्तपुर, झोंछे, मखन र रक्तकाली, इन्द्रचोक, असनलगायत क्षेत्रसमेत जोखिमको सूचीमा ।

भक्तपुरका कौशलटारबाट बालकोट जाने पुल, मनोहरा सुकुम्बासी क्षेत्र, नरेफाँट, दिव्यश्वरी जग्गा एकीकरण, सागबारी, नयाँ ठिमी, कमेरोटार, राधेराधे निकोसेरा, सल्लाघारी इवामुरा अस्पताल क्षेत्र, कालीघाट खसाङखुसुङ खोला किनार, मंगल तीर्थ मन्दिर, राम मन्दिर, चुपिङघाट, सिद्धि स्मृति, लिवालीलगायत क्षेत्र डुबानको जोखिम । ललितपुरका गोदावरीस्थित टोकलबास, छम्पी, हुनमाठ, गोदावरी बडिखेल, मानडाँडा, विष्टछाप, उनिउचौर, कतुन भन्ज्याङ, ठोस्ने खोला, चौघरे, तिप्चे भन्ज्याङ, शंखु, दल्चौकीको ठोस्ने खोलालगायत क्षेत्रलाई पहिरोको जोखिम क्षेत्र ।

खोला तथा नदी तटीय क्षेत्र र सार्वजनिक जग्गाजमिन अतिक्रमण, अव्यवस्थित बसोबास र एकीकृत बस्ती विकासको अभाव जस्ता कारणले काठमाडौं, ललितपुर र भक्तपुरका धेरै स्थान बाढी, पहिरो, डुबान तथा जीर्ण संरचना भत्किने जोखिममा परेका हुन । २०५२ सालमै पूर्वन्यायाधीश रामबहादुर रावलको अध्यक्षतामा गठित ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन तथा संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ ले नदी तथा तटीय क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सरकारलाई सुझावसहितको प्रतिवेदन दिएकोमा अहिलेसम्म सरकार गुपचुप छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्