Techie IT
Mission Khabar

सडक विभागले ठेकेदारलाई ७ अर्ब भुक्तानी दिदै, उपत्यकाका १५ लाइफ लाईन सडक अलपत्र


काठमाडौं । सडक विभागअन्तर्गत सञ्चालित आयोजनाका लागि करिब ७ अर्ब भुक्तानी दिनुपर्ने भएको छ । चैत, वैशाख र जेठमा सम्पन्न र चालु आयोजनाका लागि भुक्तानी दिन करिब ७ अर्ब आवश्यक पर्ने भन्दै विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अहिले विभागबाट आएको विवरण पेश गर्दै अर्थ मन्त्रालयसँग भुक्तानी माग गरेको छ । विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले तीन महिनामा भएको कामको बिलका आधारमा भुक्तानी दिन मन्त्रालय पठाएको जानकारी दिए । पछि भएका कामको पनि बिल आउने क्रम जारी रहेको भन्दै उनले तत्काल चाहिने रकमको माग अनुसार एकमुस्ट भुक्तानीका लागि अर्थ मन्त्रालयमा पठाइने बताए । फागुनदेखि जेठसम्म निर्माणका धेरै काम हुने भएकाले यो समयमा भुक्तानीको चाप निक्कै धेरै हुने गरेपनि लकडाउनका कारण सडक विभागमा विगतजस्तो भुक्तानीको प्रेसर देखिएको छैन ।

सकेसम्म यो वर्षको दायित्व अर्को वर्षलाई नसारिने गरि भुक्तानीको काम भैरहेको विभाग बताउँछ । सडक विभाग अन्तर्गत चालु ११ महिनामा ४० प्रतिशत मात्र बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको अन्तिम महिना असारमा मात्र १० प्रतिशत बजेट खर्च हुने अनुमान गरेको विभाग लकडाउनका कारण ८० देखि ९० प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य पुरा नभएको बताउँछ । असार महिनामा अन्य महिनाको तुलनामा विकास खर्च बढ्ने देखिएको छ । नयाँ काम सुरु नभएपनि असार लाग्नासाथ प्रदेश र स्थानीय तहमा धमाधम बजेट सक्न सडक निर्माणमा प्रतिस्पर्धा चलेको छ ।

जनप्रतिनिधिलाई सडक खन्न भ्याइनभ्याई छ । सडक विभागले मातहतका कार्यालयबाट सडकमा फजुल खर्च नभएको दाबी गरेपनि सडकको दुर्दशा हेर्न धेरै टाढा जानुपर्दैन । काठमाडौंकै सडक हेरे पुग्छ । काठमाडौं उपत्यकाका केही मुख्य सडक बाहेक धेरै सडक भत्काइएका छन् । कतै ढल, कतै विद्युतका तार त कतै खानेपानीका पाइप व्यवस्थापन भैरहेको छ ।

सडक विभागको लक्ष्य पुरा भएन्
वार्षिक १२ सय किमि सडक कालोपत्र गर्ने लक्ष्य रहेकोमा जेठ मसान्तसम्म ७ सय ३६ किमि मात्र सकिएको छ । ग्राभेल सडक निर्माण लक्ष्य १२ सय किमि रहेकोमा ८ सय ८६ किमि, ट्रयाक निर्माण ५ सय किमि लक्ष्यमा ३ सय ९५ किमि, आवधिक मर्मत ५ सय २४ किमिमा ३ सय ११ किमि, पुल निर्माण ३ सयवटा गर्ने लक्ष्य रहेकोमा १ सय ६८ वटा मात्र सकिएका छन् । ‘भौतिक प्रगति समग्रमा ६५ प्रतिशत हुने र बजेट खर्च ५० प्रतिशत आसपास हुने अनुमान विभागले गरेको छ । अहिलेको सडक पूर्वाधारको प्रगति लक्ष्यभन्दा निक्कै कम देखिएको छ ।

असारे विकासको निरन्तरता स्वरुप जडीबुटी पेप्सीकोला सडक खण्ड लगायतका कतिपय सडक पानी परिरहेको समयमा पिच गरिएका छन । कतिपय सडकमा विगत जस्तै पिचमाथी पिच थपिएको छ । बर्षभरी काम नगर्ने ठेकेदारहरु असारमै काम सकेर भुक्तानी लिन धमाधम बर्खा–झरी नभनी काम गरिरहेका छन् । डिभिजन सडक काठमाडौंले असार १ देखि अत्यावश्यकबाहेक अन्य कुरामा सडक भत्काउन र खन्न रोक लगाउनेगरी सार्वजनिक रूपमा सूचना निकालिए पनि काठमाडौंका प्रायः सडक भत्काइएका छन् । पानी परिरहदा समेत कालोपत्रको काम रोकिएको छैन । ढल व्यवस्थापनले गर्दा सडक भत्काउने क्रम रोकिएको छैन । सडक खन्न र बनाउन अनुमति लिनुपर्ने भएपनि अधिकांश सडक पूर्वाधारको काममा समन्वय अभाव रहेको डिभिजन सडक काठमाडौंका प्रमुख कुवेर नेपालीले जानकारी दिए ।

बर्खाका बेला नयाँ कालोपत्र टिक्दैन भनेर नगर्न भनिएपनि बजेट सक्नकै लागि हुने असारे विकासको प्रतिस्पर्धा सरकारले रोक्न सकिरहेको छैन । सरकारले साईड क्लिएर नगरि बन्द कोठाबाट ठेक्का लगाउने परिपाटी, सस्तोमा भएपनि ठेक्का हात पार्ने निर्माण व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा, ठेक्कामाथी ठेक्का थोपरेर काममा ढिलासुस्ती गर्ने ठेकेदारको प्रबृत्ति लगायतका कारण काठमाडौं उपत्यका सहित देशभरका सडक विस्तार, निर्माण र मर्मतको गति सुस्त छ । काठमाडौं उपत्यकामै लाइफ लाईन घोषणा गरेर विस्तार थालिएका बौद्ध जोरपाटी साँखु, जोरपाटी सुन्दरीजल, भक्तपुर नगरकोट, सातदोबाटो हरिसिद्धी गोदावरी, लुभु लामाचार, त्रिपुरेश्वर कलंकी नाकढुंगा लगायतका १५ वटा सडक ठेक्का मिति गुजारेर समेत अलपत्र छन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्