Techie IT
Mission Khabar

टिंकर जोड्ने बाटो निर्माणमा भारतको अवरोध, बढ्दै हेपाहा प्रवृत्ति


काठमाडौं/दार्चुला । भारतले नेपाली भूमि लिपुलेक जोड्ने सडक विस्फोटक पदार्थले चट्टान फुटाउँदै विस्तार गर्न थालेपछि नेपाली सेनाले बनाएको घोडेटो बाटो निर्माणमा अवरोध पुगेको छ । नेपाली सेनाले जेठ दोस्रो सातादेखि ठिक वारिपट्टि व्यास गाउँपालिका–१ जोड्ने घोडेटो बनाइरहेको छ । भारतले आफ्नोतिर ठूला चट्टान फुटालेर महाकालीमा खसाल्दा नदीको बहाव नेपालतर्फ फर्केर बन्दै गरेको घोडेटो बाटोको ४५ मिटर कटानमा परेको छ ।

भारतले महाकाली किनारैकिनारबाट धार्चुला–लिपुलेक सडकको ट्रयाक खोलेर गत वैशाख २६ मा उद्घाटन गरेसँगै नेपाल भारतीबीच तिक्तता बढेको छ । नेपाली सेनाले वारिपटी बाटो निर्माण थालेदेखि नै भारतले सडक चौडा पार्न भन्दै पारिपटी चट्टान फोर्न थालेको छ । ठूला मेसिन प्रयोग गरेर ठूल्ठूला ढुंगा महाकालीमा फाल्दा पानीको सतह माथि उकासिएर नेपालतर्फ क्षती पुग्न थाल्दा समेत नेपालबाट कुनै पहल भएको छैन । दिनमा ५ पटकसम्म विस्फोट गराएर चट्टान फुटाउँदा साना ढुंगा र चोइटा उछिट्टिएर कतिबेला घाइते भइने हो भन्ने त्रासमा बस्नुपर्ने अवस्थामा छन्, स्थानीय । करिब दुई सय मिटर घोडेटो निर्माण गरिसकेको सेना भारतीय पक्षको अवरोधका कारण थप विस्तारमा समस्या व्यहोर्नुपरेको बताउँछ । सेनाले घाटीबगरबाट मौरीभीरसम्मको ४ सय ५० मिटर घोडेटो असार मसान्तभित्र बनाइसक्ने लक्ष्यका साथ काम थालेपनि भारतीय अवरोधले ढिला हुने देखिएको छ ।

व्यास–२ मा पर्ने मौरीभीरमा ठूलो चट्टान र घाटीबगरमा पहिरोसमेत गएकाले व्यास–१ मा पर्ने छाङरु र टिंकर गाउँका बासिन्दालाई जिल्ला सदरमुकाम आउजाउ गर्न समस्या छ । नेपालतर्फ बाटो नहुँदा उनीहरूले आफ्नो थातथलो आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटाउन सेनाले घोडेटो बाटो बनाउन लागेको हो । बाटो निर्माणमा भारतले अवरोध पु¥याइरहेको बारे सेनाले माथिल्लो निकायलाई खबर गरेपनि पहल भएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्