Techie IT
Mission Khabar

प्रसारण लाईनको पोल बग्यो, ओखलढुङ्गा सहित तीन जिल्लाको विद्युत् आपूर्ति अवरुद्ध


काठमाडौं/खोटाङ । लगातारको वर्षापछि आएको बाढीले विद्युत प्रसारण लाइनको पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइनका दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि तीन जिल्लाको विद्युत् आपूर्ति अवरुद्ध भएको हो ।

विद्युत् आपूर्तिमा समस्या आउँदा ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत कटौती हुँदा यी जिल्लाको विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायमा प्रभाव परेको छ । त्रियुगाखोलामा बाढीको बहाव थप बढिरहेका कारण अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण उदयपुरले जानकारी दिएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा खोटाङको बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएपनि लामो दूरीका कारण पटक–पटक अवरुद्ध हुने गरेको छ ।

विद्युत् लाइन विस्तार गरिएको स्थानमा घनाजङ्गल रहेकोले हावा चल्दा तथा ठूलो पानी पर्दा समस्या ब्यहोर्नु परिरहेको छ । पटक–पटक अवरुद्ध भएर समस्या बल्झिदा समेत दीर्घकालीन समाधानमा कसैको ध्यान पुग्न सकेको छैन । विसं २०५७ जेठ २ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेको विद्युत् पोल अहिलेसम्म पनि स्तरोन्नति गरिएको छैन । बरु पटक–पटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्ने क्रममा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना अङ्गभङ्ग भएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्