मेलम्चीको सुरुङ परिक्षण : डिजाइन र गुणस्तरमा प्रश्नैप्रश्न, कहिले आउने अझै अनिश्चित

काठमाडौं । मेलम्ची खानेपानी आयोजना अबको केही महिनामै पुरा हुने दाबी गरिदैगर्दा आयोजनाको डिजाइन र गुणस्तरमाथि नै प्रश्न उठ्न थालेको छ । सुरुङमा पानी पठाएर परीक्षण गर्दैगर्दा मंगलबार ढोकाको एक भाग पूरै खुलेपछि पूरा हुनै लागेको आयोजनाको गुणस्तरमा प्रश्न उब्जिएको हो ।
करिब ५० मिटर उचाइको पानीको प्रेसर थेग्ने गरी सुरुङको ढोका डिजाइन गरिएको दाबी गरिदैगर्दा १६ मिटर पनि थेग्न नसकेपछि कतिपयले गुणस्तरहिन पूर्वाधार तयार भएको आँकलन गर्न थालेका छन् । परिक्षणका क्रममा ढोकामा जडान गरिएका फलामका ३२ वटा नटबोल्टहरु कुनै फुस्किएका, कुनैले स्लिप खाएका र केही भाँचिएका थिए । खानेपानी तथा सरसफाइ मन्त्रालयका प्राविधिकहरुले भने सुरुङ र त्यसको संरचनाको विदेशी विशेषज्ञद्वारा पूर्णरूपमा जाँच नगरी हतारमा टेस्ट गर्दाको परिणाम भनेका छन् । परीक्षण गर्ने बेलामा आयोजनाको मुख्य प्राविधिक जिम्मेवारी पाएको कन्सल्ट्यान्ट टिम लिडर नेपालमा थिएनन् । कम्पनीको डेपुटी टिम लिडरका रूपमा रहेका शिवकुमार शर्माको टिमले सुरुङका विशेषज्ञहरूलाई अनुगमन गराएर उनीहरूको सिफारिसमा परीक्षण गर्नुपर्नेमा त्यसो गरेनन् । यसैका कारण एउटा त्रुटि भएको मन्त्रालयको दाबी छ ।
आयोजनाले भने सुरुङमा पानी पठाउने निर्णय ठेकेदारको प्रस्ताव र कन्सल्ट्यान्टको सिफारिसमा गरेको बताएको छ । आयोजनाको हेलम्बु मुहानबाट सुन्दरीजलसम्म २७ किमि सुरुङको अम्बाथान, ग्याल्थुम र सिन्धु अडिटको मुखमा यही प्रकृतिका तीनवटा ढोका छन् । सुन्दरीजलमा यस्तै प्रकृतिको अर्को ढोका छ । यसबाहेक इन्टेकसमेत सुरुङका ठाउँठाउँमा सानाठूला गरी ३४ वटा ढोका छन् । अब सबै ढोकाहरूको जाँच गरेपछि मात्र सुरुङमा पानी परीक्षण गर्नुपर्ने देखिएको छ । सुरुङको डिजाइन, गुणस्तर र ढोका जडान गर्ने तरिकामाथि प्रश्न उठेपछि आयोजनाले स्पेनको कन्सल्ट्यान्ट इपिसाको मुख्य प्रतिनिधि, ढोका डिजाइनर र सप्लायर भारतीय कम्पनीलाई झिकाएर आवश्यक सोधपुछ र समन्वयन गर्ने निर्णय गरेको छ ।
आयोजनाका कार्यकारी निर्देशक त्रिरेस खत्रीले समेत ढोका र त्यसमा प्रयोग भएको फलामको गुणस्तर जाँच गरिने जानकारी दिए । आयोजनाले ढोकाको डिजाइन, निर्माण र जडान गर्ने जिम्मा भारतीय कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडलाई दिएको थियो । आयोजनाका अनुसार कम्पनीका प्रतिनिधिले मंगलबारसम्म आउने बताएका छन् । हाइड्रो मेकानिकल इन्जिनियर खेम पुन सुरुङमा यस्ता प्रकृतिका ढोकाहरू जडान गर्दा नटबोल्टमा पानीको प्रेसर नपर्ने गरी डिजाइन गर्नुपर्ने बताउँछन् । सुरुङमा पानी पठाउँदा सन्तुलन नमिलेर हावा जम्मा (एयर ट्रयाप) भई त्यसले निकास खोज्दा ढोकामा बढी प्रेसर पर्नसक्ने पुनले बताए । सुरुङको पानीले बगाएका एक कर्मचारी अझै बेपत्ता छन् ।मुहान क्षेत्र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निष्पक्ष व्यक्तिहरू रहेको छानबिन समिति बनाएर भविष्यमा हुन सक्ने दुर्घटना रोक्नेगरी आयोजनाका सबै संरचनाको गुणस्तर जाँच तथा छानविन गर्नुपर्ने बताएका छन् ।
मन्त्रालयले सहसचिव रमाकान्त दुवाडीको संयोजनमा गठन गरेको प्राविधिक टोलीले मुहान क्षेत्रको अवलोकन गरेर छानबिन सुरु गरेको छ । टोलीले शुक्रबार खानपानी मन्त्री बिना मगर, सचिव माधव बेल्बासे र आयोजना प्रमुख खत्रीसहितको उपस्थितिमा घटनाको प्रारम्भिक जानकारी गराएको छ । संयोजक दुवाडीले कन्सल्ट्यान्ट, ठेकेदार कम्पनीसँगको डकुमेन्ट संकलन भइरहेको जानकारी दिए । करिब २९ अर्ब खर्च भइसकेको आयोजनाको निर्माण सुरु भएको २० वर्ष नाघेको छ । यस अवधिमा सुरुङ बनाउने दुइटा ठेकेदार कम्पनी परिवर्तन भएका छन् । अहिले तेस्रो कम्पनीका रूपमा चीनको सिनो हाइड्रोले काम गरिरहेको छ ।
संसदिय समिति, सञ्चारमाध्यम र सर्वसाधारणले मेलम्चीको पानी राजधानी ल्याउने कहिले भन्दै निरन्तर दबाब दिइरहेको अवस्थामा छिटो गर्न खोज्दा समस्या भएको कतिपयको बुझाई छ । खानेपानी मन्त्रालय छिटो काम सक्नु भन्ने दबाबलाई प्राविधिक सल्लाहविपरीत काम गर्नु भनेको अर्थमा बुझ्न नहुने बताउँछ । सुरुङ निर्माणका लागि २००९ मा चाइना रेल–वे १५ ब्युरो ग्रुप जेभीले सुरु गरेको काम पूरा नगरेपछि ०७० सालमा सम्झौता तोडेर इटालियन कम्पनी (सीएमसी) ले ठेक्का पाएको थियो । ०७५ पुस १ मा उक्त कम्पनीले एकतर्फी रूपमा सम्झौता तोेडेपछि ०७६ असोजमा चाइनाको सिनो हाइड्रो कम्पनीलाई सुरुङ निर्माणको जिम्मेवारी दिइएको थियो । हेडवक्र्सको कामा १५ महिनामा पूरा गर्ने गरी सम्झौता भए अनुसार सिनो हाइड्रोले काम गरिरहेको छ । आयोजनाले हाल पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी र दोस्रो चरणमा सिन्धुपाल्चोककै याङ्ग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी काठमाडौं ल्याउने योजना सहित आयोजनाले काम गरिरहेको छ ।
सुरुङ परिक्षणका क्रममा देखिएको प्राविधिक समस्याले भने मेलम्ची आयोजनामा गुणस्तरहिन काम भएको त छैन भन्ने प्रश्न उठाइदिएको छ । योसँगै निर्माण सुरु भएको २० औँ बर्षसम्म पुरा हुन नसकेको मेलम्ची खानेपानी आयोजनामा थप ढिलाई भएर पानी काठमाडौं आउने समयमा ढिलाई हुने हो कि भन्ने शंकाहरु समेत बढ्न थालेका छन् ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking, #खानपानी मन्त्रालय, #डिजाइन र गुणस्तरमाथि प्रश्न, #बिना मगर, #मेलम्ची, #मेलम्ची खानेपानी आयोजना, #सुरुङ परीक्षण
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्