Techie IT
Mission Khabar

सेनिटाइजर उद्योगीको ब्यथा : नेपालमा पर्याप्त उत्पादन, भारतबाट झन झन बढाइन्छ आयात


काठमाडौं । सेनिटाइजरको उत्पादन गर्ने भनेर दर्जनौं उद्योगले अनुमति पाइरहेको र उत्यादन नै सुरु गरेको भए पनि नेपालमा दोस्रो मुलुकबाट हुने आयात रोकिएको छैन् । बरु थप वृद्धि भएको पाइन्छ ।

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएसँगै विदेशबाट साढे २४ करोडभन्दा बढी मूल्यकोे सेनिटाइजर आयात भएको भन्सारको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार गतवर्ष कोरोना भाइरस संक्रमण देखिएपछि २४ करोड ५४ लाख ६९ हजार रुपैयाँ बराबरको ५३ लाख ९ सय ८९ केजी सेनिटाइजर आयात भएको थियो । पहिलोपटक लकडाउन सुरु भएपछि ४० वटा उद्योग दर्ता भएर ३० भन्दा धेरैले उत्पादन नै गरिरहेका छन् । यी उद्योगले १ सय २० ब्रान्डका सेनिटाइजर उत्पादन गरिरहेका छन् । विभागमा दर्ता भएका उद्योगमा स्वदेशी र आयात हुने सेनिटाइजर दुवै पर्छन् । दर्ता भएका सेनिटाइजरमध्ये ९५ प्रतिशतभन्दा धेरै स्वदेशी उद्योग छन् ।

स्वदेश मै गुणस्तरीय सेनिटाइजर उत्पादन गर्ने औषधि उद्योग हुँदाहुँदै सरकारले भने भारतबाट हुने गुणस्तरहीन सेनिटाइजर आयातलाई सहयोग गरिरहेको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले सस्तोका नाममा भारतबाट कमशल सेनिटाइजर आयात भएको बताए । स्वदेश मै ठूलो संख्यामा सेनिटाइजर उत्पादन गर्ने उद्योग हुँदाहुँदै आयात उच्च हुनुको प्रमुख कारण लागत मूल्य नै हो । कतिपय व्यवसायी भने यसमा कमिशनको खेल भएको बताइरहेका छन् ।

औषधि व्यवस्था विभागले कानुनअनुसार दर्ता भएर मात्र आउन दिने, गुणस्तर परीक्षण गर्ने भनेर प्रतिवद्धता जनाएपनि सेनिटाइजर ल्याउन खोल्ने एलसी रोक्न राष्ट्र बैंकलाई चिठी लेख्ने सकेको छैन । नेपालमा सेनिटाइजरको कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क र भ्याट हटाएर स्वदेशी उत्पादनलाई प्रोत्साहन सहित सस्तो बनाउनु पर्ने माग व्यवसायीहरुले गर्दै आएका छन् ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्