Techie IT
Mission Khabar

स्वास्थ्य पूर्वाधारमा सरकारको तयारी, कोभिड अस्पतालसँगै थपिदै ३०४५ बेड


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालका रुपमा तोकेको छ । सरकारको निर्णयसँगै अब पर्सा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोगमा आउनेछन् ।

यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय गरेको थियो । मन्त्रालयले केन्द्रीय अस्पतालमा १ हजार बेड, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड तथा स्थानीय तहमा हरेक पालिकामा ५ बेडको अस्पतालको दरले ३ हजार ४५ बेड थप गर्नेगरि योजना नै अघि बढाएको छ ।

अब हरेक स्थानीय तहमा अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार अस्पताल नभएका ६४९ वटा स्थानीय तहमा ५ शय्याको अस्पतालको सेवा शुरु गर्ने जानकारी दिए । स्वास्थ्य मन्त्रालयबाट स्थानीय तहमा अस्पताल संचालनको लागि ६४ करोड रुपैयाँ निकासा गरिएसँगै हरेक स्थानीय तहमा ५ शैयाकोअस्पताल निर्माणले गति लिने आँकलन गरिएको छ ।

स्थानीय तहमा संचालन हुने अस्पतालमा कम्तिमा एक जना एमबीबीएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी राखिने र यसको व्यवस्थापन स्थानीय तहले गर्नेगरि योजना बनाइएको छ । अस्पताल सञ्चालन गर्ने स्थानको निर्णयको जिम्मा पनि स्थानीय तहलाई नै दिइएको छ । यद्यपी कस्तो अस्पताल ? कहिलेसम्म निर्माण पुरा हुने भन्ने बारे केही खुलाइएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्