Techie IT
Mission Khabar

पाँचथरमा दुई वटा बीओपी स्थापना, प्रदेश १ मा थपिदै १८ बोर्डर आउट पोष्ट


काठमाडौं, ताप्लेजुङ । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी ) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेपनि शुक्रबार सुर्केथामको उद्घाटन गर्ने कार्यक्रम मौषमका कारण स्थगित गर्नुपरेको थियो ।

सशस्त्र प्रहरी बल पाँचथरका डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार दुवै स्थानमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा बीओपी राखिएको छ । एउटा बीओपीमा ३५ जना खटाइएका छन् । चिवाभञ्ज्याङमा नेपाल भारत सिमानादेखि करिब सय मिटर र सुर्केथाममा सिमाना नजिकै बीओपी राखिएको छ । नेपाल प्रहरीको सीमा प्रहरी चौकी भने च्याङथापुमा रहेको छ । सिमानाको रेखदेख यसअघि यही चौकीले गर्दै आएको थियो । यहाँबाट सिमाना पुग्न पुरै एकदिन पैदल हिँड्नुपर्छ । गाडीमा पनि ५ घन्टा बढी समय लाग्छ । फालेलुङमा पनि यस्तै अवस्था थियो । द्विदेशीय सिमाना नजिकै रहेको भारतले नेपालको सिमाना मिचेको दाबी स्थानीयले गर्दै आएको लामो समयपछि भएको बीओपी स्थापनाले सीमा सुरक्षामा बल पुग्ने स्थानीयको विश्वास छ ।

सशस्त्र प्रहरीका प्रदेश प्रमुख दाहालले १ नं प्रदेशमा स्वीकृत सबै ठाउँका बीओपी यसै आर्थिक वर्षमा स्थापना भइसक्ने जानकारी दिएका छन् । सिमावर्ती २२ स्थानमा बीओपी राख्ने योजना भएपनि अहिले चिवाभञ्ज्याङ, सुर्केथाम, इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ र रोङ गाउँपालिकाको सलकपुरमा बीओपी स्थापना गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्