Techie IT
Mission Khabar

पुरानै स्वरुपमा रानीपोखरी, संकटमा परिसकेको सम्पदालाई पुर्नजीवन


काठमाडौं । भूकम्पका कारण भत्किएर पुर्ननिर्माणका लागि सुकाइएको रानीपोखरी करिब ५ वर्षपछि पुरानै स्वरुपमा फर्किएको छ । मर्मतका लागि पानी सुकाइएर यत्तिकै छाडिएपछि एक समय कुरुप चौरमा परिणत भइसकेको रानीपोखरीलाई फेरि पुरानै स्वरुपमा फर्काइएको हो ।

पोखरीको पानी जम्ने सतहसँगै वरिपरि परम्परागत शैलीमा पर्खाल बनाएर दुरुस्त बनाइएपछि तीनदिनदेखी केयूकेएल अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयले ३ करोड लिटर पानी भरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर रमाजुमान मानन्धरका अनुसार करिब ३ करोड लिटर पानी हालेसँगै रानी पोखरी पुरानै स्वरुपमा देखिएको छ । पोखरीको बीचमा बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनाइएको छ । यो भने हाम्रो पुस्ताले देखेको भन्दा पनि पुरानो अवस्थाको मन्दिर हो । मानन्धरका अनुसार मन्दिरको गजुर हाल्ने काम बाहेक अरु निर्माण सम्पन्न भएको छ । वर्षाको पानी जम्मा हुन थालेपनि रानीपोखरी भरिन सकेको थिएन । यसमा डिप बोरिङ गरेर भर्न खोज्दा सम्पदा अभियान्ताले बिरोध गरेपछि केयूकेयलबाट भरिएको थियो ।

यस्तो थियो पुनर्निर्माणको बिगत
२०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानी पोखरी पुनर्निर्माणको शिलान्यास गरिन । काठमाडौं महानगरले जिम्मा लिएपनि लामो समयसम्म निर्माणको काम अलपत्र बन्यो । पोखरीदेखि पर्खालसम्म कंक्रिट प्रयोग भएपछि विवाद थप चुलियो । रानीपोखरीको पुननिर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य निक्कै विवादित बने । उपमेयर हरिप्रभा खड्की र सम्पदा प्रेमीहरुको निरन्तरको दबाबपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी र पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइयो । बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर (ग्रन्थकुट) शैलीमा बनाइएको छ । यो हाम्रो पुस्ताले देखेको भन्दापनि प्राचिन अवस्थाको मन्दिर हो ।पानी कसरी भर्ने अन्योलका बीच केयूकेएलले रानीपोखरी भर्ने पानी उपलब्ध गराएको थियो ।

रानी पोखरी एउटा ऐतिहासिक पुरातात्विक महत्व बोकेको धरोहर । भूकम्पपछि भत्किएर संकटमा परिसकेको एउटा सम्पदाले ढिलै भएपनि पुर्नजीवन पाएको छ । सम्पदा र इतिहास बचाउन तपाई हामी सबै एकजुट भएर लागौँ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #काठमाडौं महानगर, #पुनर्निर्माण, #रानी पोखरी, #राष्ट्रपति विद्यादेवी भण्डारी, #राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

तपाईको कमेन्ट लेख्नुहोस्