Techie IT
Mission Khabar

दाताले हात झिक्दा थला पर्दै सुदुरपश्चिमको बयलपाटा अस्पताल, बढ्दै सरकारी बेवास्था


अछाम, काठमाडौं । सुदूरपश्चिमको ठूला अस्पतालमध्ये एक हो, बयलपाटा अस्पताल । अछामको बयलपाटामा अवस्थित यो अस्पताल जिल्ला अस्पताल पछिको विशेषज्ञ सेवा दिने अछामबासीको स्वास्थ्य उपचारको केन्द्र पनि हो । जहाँ बिरामीले टिकट काट्न पैसा तिर्नुपर्दैन । औषधि किन्न निजी औषधि पसलमा धाइरहनुपर्दैन । अस्पतालकै फार्मेसीमा सम्पूर्ण औषधि निःशुल्क उपलब्ध हुन्छ । तर यो सबै सेवाका लागि अनुदान दिइरहेको गैरसरकारी संस्था न्याय हेल्थ नेपालले हात झिक्न थालेपछि पछिल्लो दुई वर्षदेखि अस्पताल थला पर्न लागेको छ ।

कर्मचारीलाई तलब खुवाउनसमेत अस्पताललाई हम्मेहम्मे पर्दा अछाम, बाजुरा, डोटीका जनताले पाइरहेको स्वास्थ्य सेवासमेत कटौती हुने चिन्ता बढ्न थालेको छ । यहाँ मुगु, हुम्ला, कालीकोट र दैलेखबाट समेत बिरामी आउने गरेका छन् । अहिलेसम्म साढे आठ लाख बिरामीलाई सेवा दिइएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले जानकारी दिनुभएको छ । १९ वटा भवनमा सञ्चालित अस्पतालमा ५० शैय्या छ, दुईजना हाडजोर्नी र प्रसूति विशेषज्ञ डाक्टर छन् । चारजना एमबीबीएस र एकजना दाँतका डाक्टर छन्, १४ जना हेल्थ असिस्टेन्ट, १२ अहेब, २० स्टाफ नर्सले सेवा दिइरहेको एक्सरेमा दुई र फार्मेसीमा तीनजना कर्मचारी कार्यरत छन् । सरकारले भने यो १२ वर्षमा बयलपाटाको लागि २० करोड मात्र लगानी गरेको छ । दाताले बजेटबारे अस्पतालसँग सम्झौता नै नगरेपछि प्रदेश र स्थानीय सरकारसँग कम्तिमा १२ करोडको बजेट उपलब्ध गराइदिन आग्रह गरिएकोमा प्रदेश सरकारले साढे सात करोड दिने निर्णय गरेको छ ।

अस्पताललाई पहिलेकै जसरी सेवा सुरु गर्न कम्तिमा पनि १२ करोड रुपैयाँको बजेट आवश्यकता पर्छ । दुर्गममा विशेषज्ञ डाक्टर पुर्याएर सेवा दिइरहेको अस्पताल संकटमा परेपछि डा. केसीले त्यसलाई पनि आफ्नो अनसनको मागमा राखेका छन् । तर सरकारले न डा. केसीसँग संवाद सुरु गरेको छ, न बयलपाटा अस्पताललाई जिवन्त राख्न चाहेको छ । के दुर्गममा निशुल्क उपचार सेवा दिने बयलपाटा जस्ता अस्पतालमा सरकारको नजर पुग्नु पर्दैन ?


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्