Techie IT
Mission Khabar

हृदयाघात र मुटु रोगका कारण विश्वमा बर्षेनी करिब २ करोड मानिसले ज्यान गुमाउँदै, यसरी बचौँ


काठमाडौं । सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम सहित मनाइएको छ । ‘मन लगाऔं, मुटु बचाऔं’ नाराका साथ मुटुसम्बन्धी जनचेतना बढाउन यो दिवस मनाइने गरिन्छ । नेपालमा मुटुरोगीको संख्या दैनिक बढिरहेको छ भने २६ प्रतिशत मृत्यु मुटुकै समस्याका कारणले हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्षेनी करिब २ करोड मानिसले हृदयाघात र मुटुसम्बन्धी समस्याका कारण ज्यान गुमाउने गरेका छन् । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दो क्रममा देखिएको छ । कुल मृत्यु मध्ये २६ प्रतिशत मृत्यु मुटुरोगबाट हुने गरेको छ । मुटुसम्बन्धी रोगका कारण संसारभरि हरेक वर्ष १ करोड ८० लाख मानिसको मृत्यु हुन्छ । यो एक वर्षमा संसारभरि हुने मृत्युको ३२ प्रतिशत हो । यो तथ्यले मुटुको हेरचाह किन महत्वपूर्ण छ भन्ने उजागर गरेको छ । मुटुरोगको उपचार ज्यादै महँगो हुने भएकाले हाम्रो जस्तो निम्न आय भएको मुलुकलाई यससम्बन्धी पूर्वाधार बनाउन निकै गाह्रो छ । यसैले यो रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो । यही अनुपातमा हेर्ने हो भने नेपालमा झन्डै ७६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटुरोगको समस्या छ ।

मुटुरोग विषेशज्ञ डा अनिल भट्टराई अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमणको जोखिम मुटुरोगी स्वासप्रश्वासको समस्या भएका, क्यान्सरका बिरामी, उच्च रक्तचाप, ६० वर्षमाथिका उमेरसमूहलाई बढी देखिएको बताउँछन् । मुटु सम्बन्धी समस्या भएको विरामीलाई कोरोनासंक्रमण भएमा मुटुको मांशपेशी झनै कमजोर हुने र मृत्यु हुने संभावना बढेर जाने चिकित्सकको भनाई छ । मुटु रोगीलाई कोभिड–१९ संक्रमण भयो भने यस्ता व्यक्तिको मृत्यु हुनसक्ने वा लामो समयसम्म आइसियु बस्नुपर्ने जोखिम धेरै हुन्छ ।

यस्तो बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेहुँदा आवश्यक सावधानी अपनाउन आवश्यक छ । मुटु रोगीले विषेशगरि भिटामिनयुक्त खाना, सन्तुलित आहार, प्रसस्त मिनरल पाइने हरियो सागसब्जी खाने, फलफुल खानुपर्छ । मुटु रोगबाट बच्न जीवन शैली, खाानपान र नियमित शारीरिक व्यायायमा ध्यान दिन चिकित्सकको सुझाव छ । अन्य देशको तुलनामा नेपालमा मुटु रोगको उपचार सहज र सस्तो बनाइएको छ । खासगरी मुटुरोग देखिदा १५ बर्ष मुनीका बालबालिका र ७५ बर्ष नाघेकाहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । यस्तै, गम्भीर मुटु रोगीको उपचारका लगि सरकारले १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।

नेपालमा कृत्रिम मुटु र मुटुको प्रत्यारोपण बाहेक सबै किसिमको रोगको उपचार हुँदैआएको छ । उपचारसेवा काठमाडौं केन्द्रीत भएकाले अब सबै प्रदेशमा मुटु उपचार केन्द्र खोल्नुपर्ने आवश्यकता स्वास्थ्य विज्ञहरुले औल्याएका छन् । देशभर मुटु सम्बन्धी आवश्यक जनचेतना र उपचारबारे जानकारी दिन सकियो भने केही हदसम्म भएपनि मुटु रोगीको संख्या घटाउन सकिन्छ । तर मुटु दिवश तारे होटलका गोष्ठी र औपचारिक कार्यक्रममा मात्रै सिमित हुँदा खानपान बारेको जानकारी र सचेतना फैल्याउन सकिएको छैन ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्