Techie IT
Mission Khabar

उच्च जोखिममा कारागार : ७ सय कैदीबन्दीमा कोभिड–१९ संक्रमण, ८ को मृत्यु


काठमाडौं । देशका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार देशभर ७ सय भन्दा बढी कैदीबन्दीमा संक्रमण पहिचान हुँदा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

विभागका सूचना अधिकारी देवर्शी सापकोटाले सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । बाँके र मोरङ्मा एकएक जनाको निधन भएको छ । अहिलेसम्म विभिन्न कारागारका एक हजार ९०० बढीको पिसिआर परीक्षण गरिएको छ । करिब ७ सय संक्रमित मध्ये २०० जनाले कोरोना जितेका छन् । विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको पीसीआर परीक्षण गर्दै आएको छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको कारागारमा बाहिरको भेटघाटलाई अहिले पूर्णरुपमा रोक लगाइएको छ । आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको छ भने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको कारागार व्यवस्थापन विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्