Techie IT
Mission Khabar

काठमाडौं–निजगढ द्रुतमार्गः आगामी बैशाखबाट सुरु होला त सुरुङ निर्माणको काम ?


काठमाडौं । निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गको सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् । १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वयोग्यता निर्धारणको प्रतिस्पर्धामा सहभागिता जनाएका छन् ।

सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको जानकारी दिनुभयो । यी ४३ आवेदक मध्येबाट फरक–फरक प्याकेजमा लागि फरक–फरक योग्य कम्पनीहरु सर्ट लिस्ट गरिनेछ । यसरी सर्ट लिस्ट गरिने कम्पनीलाई अर्को पटक ३ महिनाको समय दिएर फेरि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नेगरि टेन्डर आह्वान गरिन्छ । आगामी मे महिनासम्ममा काम सुरु हुने गरी नोभेम्बरसम्म सर्ट लिस्ट भएका कम्पनीका लागि अर्को टेन्डर खुलाउनेगरि सेनाले आन्तरिक तयारी गरेको छ । अहिले कोरियन कम्पनी युसिनले फास्ट ट्रयाकको पुल तथा सुरुङमार्गको डिजाइन गरिरहेको छ ।

छिटो ठेकेदारहरुले पुल तथा सुरुङको निर्माण थाल्ने गरी सबै तयारी सकाइएको सेनाको दाबी छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । डीपीआरअनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बन्दैछ । महादेवडाँडाको सुरुङसहित ४.६ किलामिटरको सडक तथा सुरुङमार्ग र धेद्रे तथा लेनडाँडाको सुरुङमार्गलाई छुट्टा छुट्टै प्याकेज बनाएर आशयपत्र मागिएको छ । १ खर्ब ७५ अर्ब अनुमानित लागत रहेको द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्