Techie IT
Mission Khabar

विना दर्ताका क्रसर तथा खानी बन्द होलान त ? यस्तो छ देशको अवस्था


काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकमार्फत निर्णय गर्दै ले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।

मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा डिभिजन वन, जिल्ला प्रहरी, घरेलु तथा साना उद्योग, मालपोत र नापी कार्यालयका प्रमुखसहित इञ्जिनियर सम्मेलित टोलीबाट तत्काल अनुगमन गरेर क्रसर मापदण्ड अनुसार भए नभएको, तोकिएको जग्गामा सञ्चालन भए, नभएको, दर्ता भएका वेला तोकिएका अन्य शर्त पालना गरिए नगरिएको लगायतका विवरण संकलन गरी ७ दिनभित्र रिपोर्ट पेश गर्न भनिएको छ । बेलाबेलामा यस्ता निर्देशन जारी हुँदै आएपनि कार्यान्वयन पक्ष भने फितलो देखिने गरेको छ । खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथी वारम्बार नियमन पनि हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, बनका प्रतिनिधि लगायतका नियमन कारी निकायबाट हुने अनुगमन र निर्देशन समेत प्रभावकारी बन्ने गरेको छैन ।

केही उद्योगीहरु दर्ता प्रक्रियामा आएर बैद्यानिक बन्न थालेपनि अझै अधिकांश खानी, क्रसर र बालुवा प्रशोधन उद्योगहरु नविकरण, दर्ता नै नभई सञ्चालनमा छन् । रपनि सरकारले नियमन गरेर कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

यस्तो छ, क्रसर र खानी सञ्चालनको मापदण्ड
ढुंगा गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ ले गरेका केही महत्वपूर्ण व्यवस्था

–घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर, राजमार्गको पाँचसय किलोमिटर, नदी, सडक पुल तथा झोलुगे पुलको एक किलोमिटर तल र पाँचसय मिटर माथिको नदिजन्य पदार्थ उत्खनन् र संकलन गर्न पाइने छैन ।

–स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेका स्थान तथा क्षेत्रमा मात्रै उत्खनन र निर्माण सामाग्री संकलनको अधिकार

–प्रचलित कानुन बमोजिम वातावरणीय अध्ययन प्रतिवेदन तयारी गरी अधिकार प्राप्त निकायबाट स्विकृति पाएका उद्योले मात्र उत्खनन र संकलन गर्न पाउने

–ढुंगा, गिट्टी, बालुवा संकलन र उत्खनन कार्य गर्दा वहाव परिवर्तन गर्न तथा सिंचाई प्राणाली लगायतका संरचनालाई असर गर्न नपाइने

–नदीजन्य पदार्थको संकलन, उत्खनन् र बिक्री कार्यको लागि ठेक्का व्यवस्था गर्नु पूर्व अनुसूची–१ बमोजिम चेकलिष्ट तयार गरी प्राविधिकबाट स्थलगत अनुगमन गराई ठेक्का बन्दोवस्त गर्नुपर्ने ।

–वन तथा चुरे क्षेत्रबाट ढुंगा, गिट्टि, बालुवा उत्खनन गर्न पाइनेछैन ।

यस्तो छ, देशभर सञ्चालित क्रसर र खानीको अवस्था
देशभरको विकास निर्माणमा नभई नहुने पदार्थ हो ढुंगा, गिट्टी र बालुवा । तर, बर्षौदेखी यहि निर्माण सामाग्री उत्खनन तथा संकलन गर्दै आएका उद्योगहरु भने मापदण्ड विपरित चल्दै आएका छन् । कतिपय क्रसर तथा खानी उद्योगले स्थानीय तहमा व्यवसाय दर्ता गरेपनि उद्योग नविकरण बर्षौदेखी भएको छैन । र पनि स्थानीय तहमा व्यवसाय दर्ता गरेको र कर तिरेको नाममा अधिकांश क्रसर तथा खानी सञ्चालन हुँदै आएका छन् ।

काठमाडौं उपत्यकाको खानी तथा क्रसर हब मानिने गोदावरी नगरपालिकाको लेले, टिकाभैरब, छम्पी, डुकुछाप क्षेत्रमा सञ्चालित खानी र क्रसर हुन वा पूर्वको झपा, इलामदेखी देशको तराईका बारा, पर्सा, सिराहा, रौतहट, सिन्धुली, उदयपुर लगायतका खोला बगरमा सञ्चालित क्रसर हुन । अनि दोलखाको तामाकोसी नदी क्षेत्रका, अन्य खोला क्षेत्र तथा काभ्रे, सिन्धुपाल्चोक लगायतका नदि खोला आशपासका क्रसर । यी मात्रै होइन, अहिले चितवन, हेटौँडा, नवलपरासी, दाङ, कपिलवस्तुदेखी रुकुम, रोल्पसम्म क्रसर र खानी विस्तार भएका छन् । तर मापदण्ड बिधि पुरा गरेर होइन, दर्ता बिनै स्थानीय तह सिडियो र स्थानीय प्रहरी प्रशासन रिझाएर ।

अवस्था यस्तो छ कि खोला किनारमै, बनजंगलसँगै, सडक, बस्तीको छेवैमा खानी तथा क्रसर चलिरहेका छन् । बिधि र मापदण्ड कार्यान्वयन गराउने भन्दा स्थानीय तहलाई कर अनि क्रसर तथा खानी व्यवसायीबाट बेलामौकामा आउने साथ सहयोग नै प्यारो बनिरहेको छ । कानुनले निश्चित विधि र मापदण्डका आधारमा क्रसर र खानी सञ्चालन गर्न गराउन पाउने व्यवस्था गरेको भएपनि अधिकांश स्थानमा व्यवसायीले मापदण्ड पुरा गराउन सकेका छैनन ।

मापदण्ड पुरा नभएको जान्दाजान्दै स्थानीय तहले करकैलागी व्यवसाय दर्ताको अनुमति दिएर अबैधानिक काम गर्नेहरुलाई जानाजान संरक्षण गरिरहेका छन् । अब सरकारी तहबाट दिइएको अबैद्य क्रसर र खानी बन्द गराउने निर्देशन कार्यान्वयन हुन्छ वा बन्द, खुल्लाको लुकामारिले उस्तै निरन्तरता पाउँछ हेर्न बाँकी छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्