Techie IT
Mission Khabar

पाँच वर्षपछि बालगोपालेश्वर मन्दिरमा भाइटीका, परम्पराको निरन्तरता


काठमाडौं । रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने प्रचलनका आधारमा वर्षमा एक दिन भाइटीकाको दिनमा मात्र बालगोपालेश्वर मन्दिर खुल्ने गर्दछ ।

२०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर चार वर्षसम्म बन्द थियो । मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन रानीपोखरीको बाहिर मूर्ति राखेर पूजा गर्दै परम्परालाई निरन्तरता दिइएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गर्नुभएको थियो । विज्ञ समूहको प्रतिवेदनअनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको छ । ९० सालको भूक्पपछि यो मन्दिर गुम्बज शैलीमा बनाइएको थियो ।

संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । विक्रम संवत् २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्ने गर्दथ्यो । विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्न थालेको थियो ।

तीन वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न गरेको थियो । रानीपोखरी र बालगोपालेश्वरको मन्दिरले पुरानै स्वरुप पाएपछि भने यो बर्ष दाजुभाई र दिदिबहिनी नहुनेहरुको भाइटिकामा उल्लास थपिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्