Techie IT
Mission Khabar

निर्धारित समयसीमाभित्रै फास्ट ट्रयाक बनिसक्छ : सेना


काठमाडौं । नेपाली सेनाले काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम निर्धारित समयसीमाभित्रै सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणको गति बढेको भन्दै सेनाले समयसीमाभित्रै निर्माण कार्य सकिने जानकारी गराएको हो ।

सेनाले एक विज्ञप्ती जारी गर्दै भनेको छ– ‘एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यो आयोजनाले विभिन्न व्यवधानका बाबजुद हाल आएर गति पकडेको छ, जसबाट यसको समयसीमाभित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ,’ ७२ दशमलव ५ किलोमिटर लामो दुरी रहने आयोजनाको बाग्मती प्रदेश र प्रदेश २ का गरी चारवटा जिल्ला ललितपुर, काठमाडौँ, मकवानपुर र बारा हुँदै निजगढलाई अन्तिम बिन्दुका रूपमा प्रस्ताव गरिएको छ । सेनाले लामो समयसम्म डीपीआर उपलब्ध नहुनु, उपलब्ध भइसकेपछि स्वीकृति हुन समय लाग्नु र अन्तर्राष्ट्रिय परामर्शदाताको छनोटमा भएको ढिलाइले निर्माणले गति लिन नसकेको जनाएको छ ।

कोभिड–१९ का कारण समेत केही समय आशातीत गतिमा निर्माण कार्य अघि बढ्न नसकेको दाबी सेनाको छ । अहिले अन्तर्राष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटिल पाटोका रूपमा रहेको सुरुङ मार्गका लागि कम्पनीहरूको सटिङका लागि मूल्यांकन कार्य भइरहेको जनाइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्