Techie IT
Mission Khabar

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति, सिंगो युरोपमा तरंग


एजेन्सी । बेलायतले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अनुमति दिएसँगै युरोपभर राजनीतिक तरंग पैदा भएको छ । अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिएसँगै सर्वसाधारणका लागि खोप लगाउने बाटो खुल्दा युरोपभर नयाँ तरंग पैदा भएको हो ।

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले आउदो सातादेखि खोप दिन सुरू गरिने जनाएका छन् । ब्रेक्जीटका कारण बेलायतमा चाँडो कोभिड खोपको प्रयोग स्वीकृति दिइएको स्वास्थ्यमन्त्री ह्यानककले प्रष्ट्याएका थिए । युरोपेली मुलुकमा सर्वसाधारणका लागि खोप दिने बेलायत पहिलो मुलुक भएसँगै युरोपेली युनियनका अन्य सदस्य राष्ट्रहरूमा तरंग सृजना भएको बताइएको छ । हाउस अफ कमन्सका कन्जरभेटिभ नेता जेकब रिजमगले पनि ट्वीट गर्दै ईयू त्यागेकै कारण यति छिटो खोपलाई अनुमति दिन सकेको बताएका थिए । यता ईयूका अधिकारीहरूले त्यस्ता भनाइलाई खारेज गर्दै ईयूद्वारा स्थापित संयन्त्र नै बेलायतले पनि पछ्याएको र जुनसुकै सदस्य राष्ट्रले पनि त्यसो गर्न सक्ने बताएको छ । ईयूको नियामक निकायले आफ्नो प्रक्रियामा ढिलाइ हुनुको कारण खोपमा सामेल कडा सुरक्षा परीक्षणका नियम रहेको दाबी गरेको छ । बेलायतका निम्ति जर्मन राजदूत आन्द्रियास माइकेलिसले भाइरसविरुद्धको लडाई कुनै राष्ट्रिय मुद्दा नभएको भन्दै अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।

अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोप ९५ प्रतिशत उपयोगी रहेको विभिन्न अध्ययनले देखाएसँगै कोरोनाको महामारिबाट फैलिएको सन्त्रासमा केही कमी आउने आशा गरिएको छ । यद्यपी विश्व स्वास्थ्य संगठनले खोप प्रयोगमा आउँदैमा कोरोना नियन्त्रणमा नआउने जिकिरसहित जनस्वास्थ्यका मापदण्डको पालनामा उत्तिकै संवेदनशिल बन्न सचेत गराउँदैआएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्