Techie IT
Mission Khabar

खुला भयो सदर चिडियाखाना, डेढ घण्टामा अवलोकन गरेर फर्किनुपर्ने नियम


काठमाडौं । गत चैतदेखि बन्द भएको सदर चिडियाखाना आज (बिहीबार ) देखि अवलोकनका लागि खुला गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेपछि बिहीबारदेखि स्वास्थ्य मापदण्ड पालना गरेर चिडियाखाना खोल्न लागेको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले जानकारी दिनुभएको हो ।

तर लामो समयपछि खुलेको चिडियाखानामा कोरोना महामारीका कारण पहिले जस्तो तरिकाले घुम्न भने पाइने छैन । ९ महिनापछि खुलेको चिढियाखानाबाट बढीमा एकदेखि डेढ घण्टाभित्र निस्कनुपर्ने नियम बनाइएको छ । सकेसम्म भिडभाड नहुने र सुरक्षित हिसाबले चिडियाखानाको अवलोकन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

यस्तो छ चिडियाखानाको व्यवस्थापन र नियमहरु
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार चिडियाखाना प्रवेशमा लाग्ने शुल्कमा कुनै परिवर्तन गरिएको छैन । अब एकपटकमा ८०० जनालाई मात्रै अवलोकनको लागि भित्र प्रवेश दिइनेछ । भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिनेछ । जतिजना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने गरि व्यवस्थापन मिलाइएको छ ।

चिडियाखानाभित्र जाँदा बाहिरबाट आफूलाई र बन्यजन्तुलाई खाना लैजान पाइँनेछैन । प्रवेश गर्नुपूर्व मास्क अनिवार्य र स्यानिटाइजर अनिवार्य गरिएको छ भने तापक्रम नापेर मात्रै भित्र प्रवेशको व्यवस्था मिलाइएको छ । बुधबारदेखि नै अग्रिम अनलाईन टिकट खुला गरिएको छ । अब सेवाग्राहीले लाइनमा नबसी चिडियाखानाको वेवसाइट वा इसेवामार्फत् घरबाटै टिकट काट्न सकिने छ । यसअघि मंसिरको पहिलो साता चिडियाखाना खोल्नको लागि प्रस्ताव गरिएपनि सीसीएमसीको निर्णय नआउँदा खुलेको थिएन ।

अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ । वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेकोमा यो वर्ष कोरोना महामारिका कारण प्रभावित भएको छ । यसअघि झैँ चिडियाखाना हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेछ । जहाँ ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणका लागि खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन हुँदैआएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्